झापा क्षेत्र नम्बर २ बाट एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन्।
खुल्ला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं २ मा निर्वाचन भएको थियो। निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए। कोसी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका हुन्।
यस्तै, एमाले झापाका अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ १४०६ र कोसी प्रदेशका सांसद चिन्तन पाठक १४१४ निर्वाचित भएका हुन्। राति गणनाका क्रममा मत छुटेको विषयमा विवाद हुँदा सोमबार विहानबाट खुल्ला तर्फको पुनःमत गणना गरिएको थियो। विवाद हुँदा ६ सय मत गणना गर्न बाँकी थियो।
क्षेत्रमा महिलातर्फ सर्वाधिक मतसहित बिर्तामोड नगरपालिकाको मेयर पवित्रा महतारा प्रसाई १८८०, पवित्रा पाठक १६५८ र सुनिता खरेल १५८८ मतसहित निर्वाचित भएका छन्। युवातर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मतसहित निर्वाचित भए।
झापाबाट राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने छन्। दलित प्रतिनिधिबाहेक ३६ जनाका लागि निर्वाचन भएको हो। दलित प्रतिनिधि सर्वसम्मत गरिने जनाइएको छ।
उता, झापा निर्वाचन क्षेत्र नं १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचित भएकाहरूमा खुल्लातर्फ राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई रहेका छन्। महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दिपक बराल निर्वाचित भए।
यसैगरी, क्षेत्र नं ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन्। निर्वाचित भएकाहरुमा खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ रहेका छन्। महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए। युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।
झापा निर्वाचन क्षेत्र नं ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन्। निर्वाचित भएकाहरुमा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की रहेका छन्। महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए। युवातर्फ रोशन सुवेदी निर्वाचित भएका छन्।
त्यसैगरी झापा क्षेत्र नं ५ मा खुल्लातर्फ अम्विका प्रसाद खनाल, शिव दुगेल, होम बहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन्। महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लीला ढुङ्गेल दाहाल निर्वाचित भए। युवातर्फ युवराज पौडयाल (विवश) निर्वाचित भएका छन्।
Shares

प्रतिक्रिया