ताप्लेजुङको सिदिङवा गाउँपालिका ५ भन्ज्याङ बजारमा आगलागी भएको छ।
आज साँझ भएको आगलागीमा लक्ष्मी तामाङको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीले घरभित्र सञ्चालित लामा किराना पसल, होटल एन्ड लज समेत सम्पूर्ण रूपमा जलेको छ।
सिदिङवा गाउँपालिका ५ वडाध्यक्ष अमर बहादुर लिम्बूले तामाङको घर जलेर नष्ट भए पनि बजार क्षेत्रमा रहेको अन्य घरमा क्षति नभएको बताए।
हालै जेनजी आन्दोलनका कारण गाउँपालिकाको सबै संरचनामा क्षति भएपछि कार्यालयको काम लामा होटेलबाटै सञ्चालन हुँदै आएको थियो। कार्यालय सञ्चालनका लागि राखिएका ल्यापटप, प्रिन्टर सहितका महत्त्वपूर्ण सामानहरू पनि होटेलमै रहेकोले ती सबै जलेर नष्ट भएको वडाध्यक्ष लिम्बूले बताए।
आगलागी भएको समयमा राष्ट्रपति रनिङ शिल्डको फाइनल कार्यक्रम सम्पन्न हुँदै थियो, जसका कारण आगो नियन्त्रणमा लिन सजिलो भएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया