नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थल बाहिर भएको आक्रमण प्रयासप्रति पार्टीको कोसी प्रदेश कमिटीले कडा आपत्ति जनाएको छ।
आइतबार काठमाडौँबाट इटहरी जाँदै गर्दा केही युवाले रातो मसी छ्याप्ने, भीड उक्साउने र बाटो अवरुद्ध गर्दै शारीरिक आक्रमण गर्न खोजेको घटना सार्वजनिक भएको हो।
एमाले कोसी कमिटीले जारी गरेको विज्ञप्तिमा यस्तो गतिविधिलाई लोकतन्त्र, मानव अधिकार र कानूनी शासनमाथिको प्रत्यक्ष प्रहार भनेर उल्लेख गरिएको छ। पार्टी अध्यक्ष घनश्याम खतिवडाले बाराको सिमरामा उत्पन्न अराजकता र आजको घटनाले राज्य संयन्त्र कमजोर भएको र राजनीतिक हिंसा उक्साउने संगठित प्रयास देखिने दाबी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक असहमति व्यक्त गर्ने नाममा हिंसा वा आक्रमण गर्ने प्रवृत्ति पूर्ण रूपमा अस्वीकार्य छ।’ पार्टीले सरकारलाई घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न, अराजक तत्वलाई नआश्रय दिन तथा भविष्यमा यस्ता घटनाबाट बचाउन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ।
एमालेले स्वतन्त्र आवागमन, शान्तिपूर्ण सभा-जुलुस र राजनीतिक गतिविधि लोकतन्त्रका आधारभूत अधिकार भएको उल्लेख गर्दै, हिंसात्मक प्रवृत्तिले आन्दोलनको सकारात्मक उद्देश्य कमजोर पार्ने र लोकतान्त्रिक वातावरणमा जोखिम सिर्जना गर्ने चेतावनी दिएको छ।

Shares

प्रतिक्रिया