कोशी


लेटाङमा बालिका हत्या प्रकरणः प्रहरी अझै अनुसन्धानमै, शंकास्पद अवस्थामा अर्को शव फेला

लेटाङमा बालिका हत्या प्रकरणः प्रहरी अझै अनुसन्धानमै, शंकास्पद अवस्थामा अर्को शव फेला

सुमन सुस्केरा
मंसिर ३, २०८२ बुधबार १६:५७, विराटनगर

मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतम असोज २१ मा घर नजिकै पिङ खेल्न गएकी थिइन्। त्यसपछि उनी बेपत्ता भइन्।

कात्तिक ७ मा बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको शव फेला पर्‍यो। टाउको र शरीर छुट्टिएको, नग्न अवस्थाको शव फेला परेको उक्त घटनाको  अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन।

चप्पल र कपडाका आधारमा शवको पहिचान भएपनि त्यस पछिको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ। 

अनुसन्धान र खोजी, प्राविधिक सहयोग र पोलिग्राफ परीक्षणबाट पनि प्रहरी अझै निष्कर्षमा पुग्न सकेको छैन। 

लेटाङमा भेटिएकी बालिकाको हत्या प्रकरणमा प्रहरीले व्यापक खोज तथा अनुसन्धान जारी राखेपनि हत्यारा भने अझै फेला परेका छैनन्।

घटनास्थल एकान्त स्थानमा पर्नु, शव अत्यधिक बिग्रिएको अवस्थामा फेला पर्नु र प्राविधिक प्रमाण संकलन कठिन हुनुजस्ता कारणले अनुसन्धान चुनौतीपूर्ण बनेको प्रहरीको दाबी छ।

शवको पोस्टमार्टम सकिएको भए पनि डीएनए परीक्षण रिपोर्ट भने अझै प्रक्रियामा रहेको र यसलाई आधार मानेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

जिल्ला, प्रदेशदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मका पाँच वटा युनिटले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्। प्रहरीका अनुसार केही व्यक्तिहरूको गतिविधि विश्लेषण भइरहेको छ, तर अहिलेसम्म कसैलाई स्पष्ट रुपमा पक्राउ गरी दोषी ठहरिने अवस्थासम्म प्रहरी पुगेको छैन।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले प्रहरीले घटनाका सम्बन्धमा  निरन्तर प्राविधिक तथा फिल्ड अपरेशन चलाइरहेको जानकारी दिइन्।

बालिका असोज २१ गते हराएकी थिइन्। शव परीक्षण रिपोर्ट अनुसार, हराएको दिनकै आसपास हत्या भएको अनुमान छ। तर डीएसपी चुडालले अनुमानमा होइन, प्रमाणमा आधारित निष्कर्ष मात्रै प्रहरीले सार्वजनिक गर्ने बताइन्।

अंशुको मोबाइल नभएकाले अनुसन्धानका महत्वपूर्ण कडी छुटेका छन्।

परिवारले हत्यारा पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएको छ। शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमै राखिएको छ। 

अर्को शव फेला
अंशुको शंकास्पद हत्याबारे अनुसन्धान भइरहँदा सुनसरीको इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको सर्दु जलाधारस्थित खोल्सामा शव फेला परेको छ। 

कात्तिक २४ बिहान घरबाट निस्केकी पौडेल घर नफर्केपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि निवेदन दिएको थियो। सोही क्रममा २७ कात्तिकमा धरान उपमहानगरपालिका–४ बौद्ध विहार नजिक कोसी लोकमार्ग छेउमा उनको रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग लगायतका सामान भेटिएको थियो।

उनले लगाएको कपडाको खोजी गर्दै जाने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जानकारी दिए।  

उनका अनुसार, शवको प्रकृति हेर्दा शंकास्पद देखिन्छ। शव भेटिएको स्थल सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तरमा रहेको छ।

पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad