कोशी


विवादमा विराट गोल्ड कपः प्रतियोगिताको नाफा २ लाख ९४ हजार- आयोजक, ट्रस्ट भन्छ- तथ्यमा छैन

विवादमा विराट गोल्ड कपः प्रतियोगिताको नाफा २ लाख ९४ हजार- आयोजक, ट्रस्ट भन्छ- तथ्यमा छैन

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १४:५५, विराटनगर

विराट गोल्ड कप ट्रस्ट र विराट गोल्ड कप आयोजक समितिका संयोजकको बिचमा विवाद बढेको छ। बिहीबार विराटनगरमा आयोजक समितिले गरेको पत्रकार सम्मेलन पछि ट्रस्टले असन्तुष्टि जनाएको हो

विराट गोल्ड कप २०८१ मूल आयोजक समितिका संयोजक नवीन रिजालले पत्रकार सम्मेलनको आयोजना गरेका थिए। विराट गोल्ड कपको नवौँ संस्करणमा भएको आम्दानी खर्च सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक नवीन रिजालले २ लाख ९४ हजार मुनाफा निस्किएको जानकारी दिएका थिए। 

२०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगर सहिद मैदानमा सम्पन्न गोल्ड कपका २ लाख ९४ हजार रुपैयाँभन्दा बढी नाफा भएको गोल्ड कप आयोजक समितिले जनाएको छ। गोल्ड कपमा १ करोड ७ लाख २१ हजार १८७ रुपैयाँ आम्दानी गरेको मध्य अन्य रकम सबै खर्च भएर बाँकी २ लाख ९४ हजार खुद मुनाफा भएको रिजालले जानकारी गराएका थिए।

विभिन्न शीर्षकमा १ करोड ४ लाख २६ हजार रुपैयाँभन्दा बढी खर्च भएको छ। उनले पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घले विराट गोल्ड कपलाई अनुपयुक्त समय दिएको समेत बताए। 

उनले प्रतियोगिता सम्पन्न गर्नकालागि धेरै राजनीति हुने गरेको तथा सरकारहरूबाट पैसा दिनको लागि बार्गेनिङ हुने गरेको समेत जानकारी गराए। सरकारले दिने भनेको रकम नदिने यदि दिइहाले पनि बार्गेनिङ हुने गरेको उनको भनाई थियो। 

कसले कसरी बार्गेनिङ गर्छ भन्ने बारेमा उनले केही बताउन चाहेनन्।  उनले भने, ‘अहिलेकै अवस्थामा निजी क्षेत्रले प्रतियोगिताहरू सञ्चालन गर्न सक्ने अवस्था देखिएको छैन, निजी क्षेत्रलाई असाध्यै नराम्रो नजरले हेर्ने गरिएको छ।’ 

उनले प्रदेश सरकार र खेलकुद बोर्डबाट अपेक्षाकृत सहयोग नपाएको भए पनि विराटनगर महानगरपालिकाले सहयोग गरेको बताए। रिजालले आगामी दिनमा गोल्ड कप प्रतियोगिता सफल बनाउने हो भने सस्तो लोकप्रियताको लागि हुने गतिविधिहरू रोक्नु पर्ने, प्रवेशका लागि वितरण गरिने पासलाई खारेज गरी अनिवार्य टिकट काट्ने व्यवस्था हुनुपर्ने, फ्लड लाइटको दुरुपयोग रोक्नु पर्ने र विराटनगरको अनुकूल समयमा एन्फाले तालिका उपलब्ध गराउनु पर्ने उनको भनाई छ। 

‘यो पास वितरण प्रणाली खारेज गर्नै पर्छ, जति निःशुल्क पास वितरण गरिए पनि विराटनगरवासीलाई खुसी पार्न सकिएन,’ उनले भने, ‘मैले फाइनल दिनमा मात्रै १८ सय भन्दा बढी पास निःशुल्क बाँड्नु पर्‍यो यस्तो अवस्थामा गोल्ड कप अघि बढ्न सक्दैन।’ 

सातौँ र आठौँ संस्करणमा लगातार घाटा भएको भनिएको विराट फुटबल प्रतियोगिता नवौँमा आउँदा फाइदा देखाइएको हो। विराट गोल्ड कप ट्रस्टका अध्यक्ष किशोर प्रधानले प्रतियोगितामा मुनाफा भनेर हस्तान्तरण गरिएको भनिएको रकम अडिट तथा कर क्लीयरेन्स नभई आएकोले मुनाफा भन्न नमिल्ने बताएका छन्।

‘मैले आफैँले फिल्ड सरसफाइ गर्दा तिरेको ५० हजारको हिसाब देखाइएको छैन,’ उनले भने, ‘कर क्लीयरेन्स नभई नाफा देखाइएकोले सबै रकमलाई नाफा भन्न मिल्दैन।’ 

प्रतियोगिता सम्पन्न गर्दाको कर क्लियरेन्स गरेर सबै तिरको खर्च भुक्तानी गरेपछि आउने रकम मात्रै मुनाफा हुने बताए। उनका अनुसार, यस अघिको प्रतियोगितालाई तत्कालीन मुख्यमन्त्री केदार कार्कीका कारण   ट्रस्टले कामै गर्न नसक्ने गरी घाटामा गएको बताए ।

‘त्यो बेला मुख्यमन्त्री केदार कार्कीले २५ लाख प्रदेश सरकारको तर्फबाट गोल्ड कपलाई दिने भनेका थिए, एक रुपैयाँ पनि दिएनन्, उनले भने, आफैँ टिकट काटेर गोल्ड कपमा छिरेको भनेर मिडियामा प्रचार गर्नको लागि नाटक गरे, दिन्छु भनेर घोषणा गरिएको रकम दिएनन्, आफू चर्चामा आउन हल्ला मात्रै गरे।’ 

यस अघिको प्रतियोगिताहरू पनि घाटामा जानुको कारण सरकारले दिन्छु भनेर कबोल गरेको रकम नदिँदा समस्या भएको हो। विराट गोल्ड कप सञ्चालनका लागि विराट गोल्ड कप ट्रस्टले सातौँ संस्करणमा ८७ लाख र आठौँ संस्करणमा २२ लाख घाटा ब्यहोराको छ। 

२०८२ सालको विराट गोल्ड कप सञ्चालन गर्ने बारेमा ट्रस्टले कुनै निर्णय लिन सकेको छैन। निजी क्षेत्रले अनिच्छा देखाउँदा आगामी प्रतियोगिताहरू के हुने भन्ने अन्योल बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad