कोसी प्रदेश सरकारको मन्त्रीहरू हेरफेर गर्ने तयारी सुरु भएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलहरूसँग छलफल गरेर कांग्रेस र एमालेको दुवै मन्त्रीहरू फिर्ता बोलाउने तयारी गरेका हुन्।
नेपाली कांग्रेसले मन्त्री फिर्ता गर्न नचाहेमा एमालेका मन्त्रीहरू भनेँ फिर्ता गर्ने तयारी गरेका हुन्। भदौको १५ गतेसम्म नै मन्त्री फिर्ता बोलाउने तय भए पनि नेपाली कांग्रेसले अलमल गर्दा विवादित मन्त्रीहरूका कारण सरकारको आलोचना हुँदै आएको छ।
मङ्सिरको पहिलो हप्तासम्ममा सरकारका मन्त्रीहरू फिर्ता गरेर नयाँ मन्त्री नियुक्त गर्ने अन्तिम तयारीमा मुख्यमन्त्री देखिएका छन्। अनौपचारिक छलफलको क्रममा मुख्यमन्त्री कार्कीले नेकपा एमालेका मन्त्रीहरूले मन्त्रालयगत कामको रिजल्ट दिने गरी काम गर्न नसकेकोले अब फिर्ता बोलाउने मनस्थितिमा पुगेको बताए।
पछिल्लो समय जेनजी आन्दोलनका कारण कोसी प्रदेश सरकारलाई गति लिन केही समस्या भएको स्वीकार गरेको मुख्यमन्त्री कार्कीले तत्काल सबै सिस्टमहरूमा सुधार गर्दै नागरिक मैत्री सेवालाई प्रभावकारी बनाउने तयारी भइरहेको उनले बताए।
‘हाम्रा सबै संरचनाहरू जलेका छन्, हामी अहिले पनि टहराबाट सेवा दिइरहेका छौँ,’ उनले भने, ‘अब परिणाम देखिने गरी काम गर्ने गरी हामी अघि बढ्ने योजनाका साथ काम भइरहेको छ।’
भूराजनीतिको असर
मुख्यमन्त्री कार्कीले नेपालको राजनीतिक अवस्थालाई जिओपोलिटिकल (भू–राजनीतिक) प्रभावले गहिरो असर पारेको भन्दै देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको बताएका छन्। उनले दुई वर्षअघि श्रीलङ्का र डेढ वर्षअघि बङ्गलादेशमा देखिएको सङ्कटजस्तै अवस्था नेपाल ल्याइएको बताए।
सबै संरचनाहरू जलाएको, सबै संरचनाहरूलाई कमजोर बनाएको दाबी गर्दै उनले भने, ‘श्रीलङ्का र बङ्गलादेश जलेझैँ नेपालमा पनि त्यस्तै गरी जलाइयो, त्यो योजना जेनेजीले आफ्नो बलमा मात्रै गरेका हैनन्, यहाँ भूराजनीतिक प्रभाव छ।’
यही अवस्थामा देशले राजनीतिक निकास नपाउने बताए। ‘चुनाव भए पनि स्थायित्व आउँछ भन्ने ग्यारेन्टी छैन,’ उनले भने, ‘नयाँ दलहरू थपिँदै गइरहेका छन्, चुनावपछि अझ ठूलो अनिश्चितता निम्तिन सक्छ।’
कार्कीले सुरक्षा निकायको मनोबल असाध्यै कमजोर भएको बताउँदै प्रहरीको अवस्था चिन्ताजनक रहेको टिप्पणी गरे। सुरक्षामा थ्रेट बढेको, प्रहरीको मनोबल शून्य जस्तै छ, अहिले तत्काल उठ्न सक्ने अवस्था नभएको अवस्थामा नागरिकको सुरक्षा मुख्य विषय भएको सङ्केत गरे।
मुख्यमन्त्रीले चुनाव नगर्ने र संसद् पुनःस्थापना पनि नगर्ने प्रवृत्ति देखिएको भन्दै यसले दलहरूलाई कमजोर बनाउँदै देशलाई अस्थिरतातर्फ लैजाने खतरा रहेको उल्लेख गरे।
अब एमाले र कांग्रेस दुवैले अहिलेसम्म गरेका कमजोरी स्वीकार गरेर संविधान संशोधन र सुधारको अभियान चलाउँदै अघि बढ्ने कुरामा दृढताका साथ अघि बढ्नु पर्नेमा मुख्यमन्त्री कार्कीको जोड छ।
Shares

प्रतिक्रिया