व्यवसायीहरूले तत्काल नीतिगत समस्यालाई समाधान गरेर नजाने हो भने भोलिका दिनमा निजी क्षेत्रमा ठूलो समस्या आउने बताएका छन्। कोसी प्रदेश संवाद समूहले आयोजना गरेका संवादको क्रममा व्यवसायीहरूले प्रहरी प्रशासनको मनोबल कमजोर भएको अवस्थामा लगानीसँगै लगानीको सुरक्षा हुन नसक्नेमा गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
अहिलेको सरकारी चुनावी र काम चलाऊ सरकार मात्रै भएकोले स्थायी सरकार पछि मात्रै लगानीको वातावरण बन्ने उनीहरूको भनाई छ। उनीहरूले तत्काल नीतिगत अस्थिरता र भ्रष्टाचार अन्त्य गर्न कठोर कदम चाल्नुपर्ने, झन्झटिलो प्रक्रिया हटाई एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्नुपर्ने।
व्यवसायीमैत्री वातावरण सिर्जना, सामाजिक सन्तुलनका लागि मिडियाको सकारात्मक भूमिका, जेन–जेड आन्दोलनको भावनालाई राजनीतिक दलले बुझ्नुपर्ने, स्टार्टअप संस्कृति विकास गरी रोजगारीको अवसर सिर्जना, कानुनी कारबाही सुदृढ गर्दै दोषी पहिचान गरी आगजनी र तोडफोड गर्नेलाई कारबाही तथा सरकारी कामकाज डिजिटल प्रणालीमा लैजानुपर्ने उनीहरूको भनाई छ।
कोसी प्रदेशमा संवाद समूह–कोसी प्रदेशले आयोजना गरेको संवाद कार्यक्रममा प्रदेशभर देखिएको अशान्ति, जेन–जेड आन्दोलनपछिको अवस्था, व्यवसायीको सुरक्षा चिन्ता र अर्थतन्त्रमा परेको असरबारे व्यापक छलफल भएको छ। सहभागी उद्योगी, व्यवसायी तथा सञ्चालकले वर्तमान सुरक्षाको वातावरण, नीतिगत कमजोरी र आर्थिक सङ्कटले निजी क्षेत्र गम्भीर समस्यामा परेको बताएका छन्।
व्यवसायीहरूको सुरक्षा चिन्ता
विराट व्यापार सङ्घका अध्यक्ष अंशु बन्जाराले हालको स्थितिले व्यवसायीहरू भयभीत भएको बताए। उनले रोजगारी र लगानीको वातावरण नभएको बताउँदै व्यवसायीहरू लगानी गर्दा भोलिका दिनमा सर्वस्व खरानी हुने हो की भन्ने चिन्तामा रहेको बताए।
‘प्रहरीको नीतिले फेल खाएको छ, ५ मिनेटभित्र नियन्त्रण हुनुपर्ने घटनामा ढिलाइ हुँदा गम्भीर समस्या सिर्जना हुन सक्छ,’ उनले भने।
जेन–जेड आन्दोलन पनि प्रहरी–नागरिकबीचको दुवैतर्फ विश्वास कमजोर भएको उनीहरूको बुझाई छ।
होटल नेपालीरिका सञ्चालक आकाश दुलालले पहिलो दिन आन्दोलनमा सुधारको आशा देखिएको तर त्यसपछि कुनै सकारात्मक सङ्केत नदेखिएको बताए। जेनजेडको नाममा उच्छृङ्खल समूहको आगजनीबाट झन्डै ३० करोडको क्षति भएको उनले कार्यक्रममै सुनाए।
‘जेन जेड आन्दोलन पछि आफ्नो सुरक्षा आफैँले गर्नु पर्ने अवस्था आएकोमा मेरियट होटलको उदाहरण दिँदै भने, ‘हामी पनि आफ्नो सुरक्षाकोलागि होटलमा करेन्ट फिट गर्नुपर्ने स्थितिमा पुग्यौँ भने त्यो देशको दुर्भाग्य हो।’
उनले अप्ठ्यारो अवस्थामा पनि सरकारले सहयोग गर्न नसकेको सुनाए। भन्सारमा सामान एक हप्तादेखि अड्किएको, ५० प्रतिशत छुट दिने भनिए पनि प्रक्रिया अत्यन्त झन्झटिलो भएकाले राज्य सहयोगहीन भएको आरोप लगाए।
सिएनआई–युवा उद्यमी मञ्चका अध्यक्ष सुशन प्रधानले व्यवसाय सुरु गर्नका लागि आवश्यक कागजी प्रक्रिया निकै झन्झटिलो रहेको बताए। नयाँ उद्यमी बजारमा आउन सक्ने अवस्था बनाउनकोलागि पनि सरकारले काम गर्न सक्नु पर्ने उनको भनाई छ।
व्यवसायी किरण व्यासले जेन–जेड आन्दोलनको जडमा परिवार संरचना कमजोर भएको धारणा राखिन्। परिवारका सदस्य विदेशिनुको कारणले युवामा असन्तुष्टि जन्मिएको र समाजको आधार कमजोर भएको उनको भनाई छ।
जयन्ती अर्यालले सानो काममा पनि नागरिकलाई घुस खुवाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै, युवाले हरेक दिन देख्दै आएको भ्रष्टाचारले आक्रोश बढाएको सुनाइन्।
‘सोसल मिडिया बन्द हुनु एउटा कारण भए पनि त्यसभन्दा गहिरो मनोविज्ञानले युवा सडकमा उत्रिएका हुन्,’ उनले भनिन्।
युवा व्यवसायी प्रतीक राउतले हरेक सङ्कटभित्र अवसर रहने बताए। ‘सन् २०१३–१४ मै मैले भविष्यमा जेन–जेड निर्णायक हुने देखेको थिएँ। अहिलेका घटनाले त्यो पुष्टि भएको छ,’ उनले भने। अहिलेको यो आन्दोलनलाई अवसरको रूपमा लिएर सबैले आफ्नो ठाउँबाट सकारात्मक सोच र सकारात्मक कर्ममा लाग्नु पर्ने उनको भनाई छ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्द किशोर राठीले निजी क्षेत्र असुरक्षित भएको र सरकार स्थीर नभएको आरोप लगाए।
‘जेनजी आन्दोलन पछि ८ खर्बभन्दा बढी रकम बैङ्कहरूले चलाउन नसकेर राष्ट्र बैंकमा थुपारिएको छ,’ उनले भने, ‘यस्तै अवस्था रहिरहने हो भने अर्थतन्त्र धराशायी हुने हो की भन्ने त्रास बढेको छ।’
राठीले भारतमा जीएसटी घट्दा नेपालमा चोरी पैठारी दोब्बर बढेको तथ्य पनि उल्लेख गरे।
पवन कुमार सारडाले नेपाली युवालाई तीन वर्गमा विभाजन गरे। विदेशिने धनी वर्ग, खाडी जाने श्रमजीवी वर्ग र नेपालमै बिहान बेलुका कमाई खाने आर्थिक रूपमा कमजोर वर्ग रहेको र नेपालमा गरी खाने वर्गहरूको अहिलेको आक्रोश भएको सुनाए। उनले वर्तमान राजनीतिक नेतृत्वले युवालाई बेवास्ता गरेको र भ्रष्टाचारले सबैलाई निराश बनाएको बताए।
‘प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठाउँदै उनले भने, ‘कुन होटलमा कति क्षति भयो, कुन ठाउँका कति व्यवसायी अप्ठेरामा परे भन्ने बारेमा प्रदेश सरकारले समेत सोधी खोजी गरेन,’ उनले भने, ‘राज्यको सेवा सुविधा भोग गरेपछि नागरिकलाई अनुभूति दिलाउने काम त गर्नु पर्ला नि।’
Shares

प्रतिक्रिया