विराटनगरलाई खोरेँत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले गाई र भैँसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ। विराटनगर महानगरपालिकाको आयोजना तथा कोसी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सुरु गरिएको अभियानले विराटनगरलाई खोरेँतमुक्त बनाउने दाबी गरिएको छ।
प्रदेश खोरेँतमुक्त बनाउने कोसी प्रदेश सरकारको लक्ष्यअनुरुप विराटनगरबाट निःशुल्क खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो।
विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्मबाट अभियानको शुभारम्भ गरिएको हो। विराटनगर महानगरपालिकाको वडा नम्बर १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गाईलाई खोप लगाएर ‘खोरेँत रोगमुक्त कोसी प्रदेश अभियान’ औपचारिक रूपमा प्रारम्भ गरिएको हो।
विराटनगर महानगरपालिकाभित्र हाल २१ हजार ६ सय गाई र भैँसी रहेको तथ्याङ्क भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा। अजय कुमार साहले प्रस्तुत गरे। उनका अनुसार पहिलो चरणमा १६ हजार ६ सय गाई र भैँसीलाई खोरेँतविरुद्ध निःशुल्क खोप लगाइनेछ। खोप कार्य भ्याक्सिनेटरमार्फत गराइने र तथ्याङ्क डिजिटल प्रणालीबाट अभिलेख राखिने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
मोरङ जिल्लामै ३ लाख ८० हजार डोज खोप वितरण गरिने लक्ष्य रहेको छ। त्यस्तै बङ्गुरका लागि ५६ हजार डोज खोप लगाइने पनि डा। साहले बताए।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोसी प्रदेशका निर्देशक डा सुशील कुमार अधिकारीले प्रदेशका सबै १ सय ३७ वटै पालिकामा यो अभियान सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार इलाम जिल्लालाई पहिले नै खोरेँतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेँत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारी र अभियान अघि बढिसकेको छ।
‘कोसी प्रदेशलाई निकट भविष्यमा पूर्ण रूपमा खोरेँत रोगमुक्त बनाउने हाम्रो लक्ष्य हो,’ डा। अधिकारीले भने, ‘यस अभियानले पशु स्वास्थ्यमा सुधार ल्याउने मात्र होइन, कृषकको आर्थिक सुरक्षा पनि बलियो बनाउनेछ।’
कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी पशुपन्छी विकास महाशाखाकी प्रमुख डा। दीपा दिवालीले खोप अभियानले प्रदेशलाई खोरेँत रोगमुक्त बनाउन सहयोग पुग्ने दाबी गरिन्।
औपचारिक कार्यक्रममा बोल्दै महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले खोप अभियानले चौपायाको मृत्युदर घटाउने र किसानको आयमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष कुशेश्वर राजवंशीले खोरेँत रोगका कारण हरेक वर्ष किसानले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको उल्लेख गर्दै यस अभियानले त्यो समस्या कम गर्ने बताए।
महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हीरा यादवका अनुसार विराटनगरका १९ वटै वडामा खोप कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ। उनले स्थानीय कृषकलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै खोप अभियान पशु स्वास्थ्य सुरक्षातर्फको महत्त्वपूर्ण कदम भएको बताए।
कोसी प्रदेश सरकारको दीर्घकालीन लक्ष्य प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा खोरेँतमुक्त घोषणा गर्ने रहेको छ। यस अभियानले पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र दिगो बनाउन टेवा पुर्याउने प्रदेश सरकारको विश्वास छ।

प्रतिक्रिया