कोशी


तरकारी बजारको सफाइ गरेर कोसी प्रदेश सभा सञ्चालनको तयारी (तस्बिरहरू)

तरकारी बजारको सफाइ गरेर कोसी प्रदेश सभा सञ्चालनको तयारी (तस्बिरहरू)

सुमन सुस्केरा
कात्तिक २३, २०८२ आइतबार १६:८, विराटनगर

मोरङको कटहरी गाउँपालिका-१ सिङ्गिया खोलाको किनारमा ठूलो संरचना छ। जहाँ तरकारी बजार संचालनका लागि बनाइएका संरचना छन्।  

विश्व बैंकको सहयोगमा कृषि आधुनिकीकरण (प्याक्ट) परियोजनाले निर्माण गरेको एकीकृत कृषि थोक बजारमा अहिले धमाधम सरसफाइको कामहरू भइरहेका छन्। 

हरेक दिन कोसी प्रदेश सभाका कर्मचारीहरु यहाँ पुग्छन् र काममा व्यस्त भएका हुन्छन्। लामो समयदेखि खण्डहर भएर बसेको यो एकीकृत तरकारी तथा थोक बजारमा अब प्रदेश सभाको बैठक राख्ने तयारी हुँदैछ। 

कोसी प्रदेश सभा बैठक सञ्चालन गर्नका लागि संरचनाको अभाव हुँदा सरकारले र प्रदेश सभाबाट निर्णय गरेर तत्काललाई एकीकृत कृषि थोक बजारलाई प्रयोग गरी सभा चलाउने गृहकार्य भइरहेको कोसी प्रदेश सभा सचिवालयले जनाएको छ। 

जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते कोशी प्रदेश सभासहितका प्रदेशका संरचनाहरू जलेर नष्ट भएपछि अहिले सेवा सञ्चालनमा समेत सकस हुँदै आएको छ। त्यही प्रदेश सभाका लागि तरकारी बजारको सरसफाई गर्न  अहिले कर्मचारीहरू खटाइएका छन्। कर्मचारीहरू हरेक दिन बिहान तरकारी बजार स्थलमा पुग्छन् र सरसफाइमा व्यस्त हुन्छन्। 

यो स्थल यसअघि २०७४ सालमा आएको बाढीका कारण क्षति पुगेको थियो। एकीकृत तरकारी बजारको छेउमा रहेको सिंघिया खोलाको बाढी संरचनामा पस्दा एकीकृत तरकारी बजारका भर्खरै बन्दै गरेका संरचनाहरु भत्काउनुका साथै हिलो थुपारेको थियो। त्यही हिलो अहिले कर्मचारी सफा गर्दैछन्। 

कोसी प्रदेशका सभामुख अमरबहादुर बिष्टले प्रदेश सभा सञ्चालनका लागि सरसफाईको कामहरू भइरहेको जानकारी दिए। सरकारले तत्कालै मङ्सिरको दोस्रो हप्तासम्ममा एकीकृत तरकारी तथा फलफुल थोक बजारबाटै प्रदेश सभा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाए पनि सभामुख बिष्टले मङ्सिरभरि लाग्न सक्ने बताएका छन्। 

‘यसको सरसफाई र मर्मत सम्भारको काम भइरहेको छ,’ उनले भने, ‘सरकारले मंसिर दोस्रो हप्तासम्म सञ्चालन गर्ने भनेपनि यसमा काम निकै बाँकी रहेका कारण समय लाग्न सक्छ।’

सभामुख बिष्टले मंसिर महिनाभित्रमा प्रदेश सभा सञ्चालनमा ल्याउन सकिने प्रतिक्रिया दिएका छन्। करोडौंको लगानीमा निर्माण सम्पन्न भएको एकीकृत कृषि तरकारी बजारको सही सदुपयोग हुन सकेको थिएन। 

संघीय सरकारले प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरेको एकीकृत तरकारी बजार प्रदेश सरकारले सञ्चालन गर्न नसक्दा एकीकृत कृषि बजार खण्डहरूमा परिणत भएको थियो। 

प्रदेश सरकारले सञ्चालन गर्न नसकेपछि एकीकृत कृषि बजार कटहरी गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। हस्तान्तरण गरिएको एकीकृत कृषि बजार अहिले प्रदेश सभा सञ्चालन गर्न खोज्दा पालिकाले नै असहयोग गर्दै आएको भन्दै टिका टिप्पणी समेत उठ्दै आएको छ। 

विराटनगरसँग सीमा जोडिएको कटहरी गाउँपालिका १ मा १६ करोड ७६ लाख लागतमा २०७५ सालमा एकीकृत तरकारी तथा फलफूल थोक बजार निर्माण सम्पन्न भएको थियो। 

निर्माण सम्पन्नपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत तरकारी तथा फलफुल थोक बजार प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई प्रदेश संरचना सञ्चालन गर्न हस्तान्तरण गरेका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad