कोशी


जागिर लगाउने भन्दै ठगी, आमा–छोरी पक्राउ

जागिर लगाउने भन्दै ठगी, आमा–छोरी पक्राउ

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार २०:४७, विराटनगर

जिल्ला अदालतमा जागिर लगाइदिने भन्दै सर्वसाधारणबाट रकम उठाउने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले ठगीमा संलग्न सिराहा लहान–२ निवासी ५० वर्षीय पुनमदेवी साह र उनकी छोरी २७ वर्षीय कोमल साहलाई पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले विराटनगर–५ स्थित सम्झना चोकमा भाडामा लिएको कोठाबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार आमा–छोरीले विभिन्न जिल्लाका बेरोजगार युवालाई अदालतमा कार्यालय सहयोगी, खरिदार र सुब्बा पदमा जागिर लगाइदिने भन्दै रकम असुली गरेका थिए।

ठगीमा संलग्न कोमल साहका श्रीमान् भने फरार रहेका छन्। प्रहरीले छापा मार्ने बित्तिकै उनी घरको कम्पाउन्ड नाघ्दै भाग्न सफल भएका थिए।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार ठगीमा परेकामध्ये हालसम्म २७ जनाले उजुरी र चार जनाले जाहेरी दिएका छन्। उनका अनुसार, ठगिएका व्यक्तिहरूको सङ्ख्या ५ सयभन्दा बढी हुन सक्ने अनुमान छ।

‘सानो–सानो रकम असुल्दा पीडित अदालतसम्म नआउने सोच राखेर गिरोह सक्रिय भएको देखिन्छ,’ डिएसपी चुडालले भनिन्, ‘तर धेरै मानिसबाट सङ्कलित रकम ठुलो हुनसक्छ।’

प्रहरीका अनुसार सो समूहले कोसी र मधेस प्रदेशका मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिराहा, धनुषा लगायत जिल्लाका सयौँ व्यक्तिलाई ठगेको प्रमाण फेला परेको छ। ठगिएका मानिस देशका अन्य जिल्लामा पनि रहेको प्रहरीको अनुमान छ।

घटना विराटनगरमा सञ्चालित ‘झुम्का दरबार’ नामक गहना पसलमार्फत उजागर भएको हो। गत दसैँको घटस्थापनाका दिन एक युवतीले भगवानको मूर्तिका लागि सुनजस्तो धातु किन्ने क्रममा आफू अदालतकी अधिकृत पुनम साह भएको भन्दै केही रकम उधारो गरेकी थिइन्।

पसलले लामो समयसम्म रकम नपाएपछि अदालतमा बुझ्दा पुनम साह नामकी कुनै कर्मचारी नभएको खुलेको थियो।

पुनम र कोमलले तयार पारेको नक्कली नियुक्ति पत्रमा प्रशासन अधिकृत केदारनाथ पौडेलको हस्ताक्षर गरिएको थियो, तर अदालतमा सो नामका अधिकृत नै नभएको अदालतका श्रेस्तेदार मणिराम पोखरेलले बताए।

उनका अनुसार अदालतमा आन्दोलनको कारण कार्यालय भौतिक रूपमा क्षतिग्रस्त भएका बेला ‘नयाँ कर्मचारी परीक्षा हुने’ भनेर भ्रम फैलाइएपछि धेरै बेरोजगार युवाहरू ठगिएका थिए।

पक्राउ परेकी कोमलले जागिर खोज्नेहरूलाई फारम भर्ने दस्तुर भन्दै रकम असुल्ने गरेकी थिइन्। उनले कार्यालय सहयोगीका लागि २ हजार ५ सय ७५, खरिदारका लागि ४ हजारभन्दा बढी, र सुब्बा पदका लागि अझ बढी रकम माग्ने गरेकी थिइन्। रकम जम्मा भएपछि ह्वाट्सएपमार्फत नक्कली परिचयपत्र पठाउने र त्यसपछि ‘नियुक्ति पत्र भएको बन्द खाम’ पठाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

कोमलले पीडितहरूलाई अदालतबाट फोन नआउन्जेल खाम नखोल्नुस्, नत्र कारबाही हुन्छ भन्दै डर देखाउँथिन्। त्यसैले धेरै पीडितहरू महिनौँसम्म बन्द खामसहित घरमै बसेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको कोठाबाट विभिन्न व्यक्तिका नाममा तयार पारिएका नक्कली नियुक्ति पत्र र परिचयपत्रहरू बरामद गरेको जनाएको छ।

पक्राउ परेकी कोमल र पुनम साहमाथि सरकारी छाप दुरुपयोग, अनलाइन ठगी र सङ्गठित अपराध सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

जिल्ला अदालतले उनीहरूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad