कोसी प्रदेश सभाका सांसदहरूले जेन्जी आन्दोलनपछि प्रदेश सभाका सभामुखले कुनै पनि विषयमा छलफल नगराएको बताएका छन्।
विराटनगरमा संसदीय पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा सांसद गयानन्द मण्डलले सभामुखले अहिलेसम्म बैठक नबोलाएको र सचिवालयको अवस्थाको बारेमा जानकारी समेत नगराएको बताए।
‘प्रदेश सभा सबै जलेको छ, सचिवालयमा बस्ने ठाउँ छैन कर्मचारीहरूले मिडिया सेन्टरलाई सचिवालय बनाउनुभएको छ’ उनले भने।
सबै मिलेर सचिवालय बनाउन लाग्नुपर्नेमा उनले जोड दिए। भदौ २४ गतेको जेन्जी आन्दोलनबाट कोसी प्रदेश सभा सचिवालय सहित प्रदेशसभा भवन जलेर ध्वस्त भएको छ। सो भवनबाट कुनै पनि सेवा सञ्चालन हुनै नसक्ने अवस्था रहेको प्राविधिक टोलीले जनाएको छ।
सामाजिक विकास समितिका सभापति समेत रहेका मण्डलले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर अब कामलाई द्रुत बनाउनुपर्ने सुझाव दिएका छन्। सङ्घको मुख ताकेर बस्न नहुने भन्दै उनले आफैले बनाएका कानुन कार्यान्वयन गर्ने र हामीले आफ्नो अधिकार प्रयोग गरेर काम गर्दै प्रदेशमुखी र जनतामुखी सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ।
अर्का प्रदेश सभा सदस्य एवं पर्यटन वन वातावरण समितिका सभापति रामदेव यादवले यस्ता खालको क्षति अहिलेसम्म आफूले नदेखेको बताउँदै आन्दोलन नै कसरी भयो भन्ने विषय शङ्कास्पद रहेको बताए।
गलत प्रचार भएको, राम्रा कामहरूको पनि प्रचार हुन नसकेको, हुँदै भएन भन्ने भाष्य स्थापित हुँदा सरकारी संरचनाहरू जलेको बताउँदै अब यसको पुनर्निर्माणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए।
‘कामै भएन भन्ने गलत हल्ला चलाइयो तर प्रदेश संरचना बनिसकेपछि धेरै राम्रा कामहरू भएका छन्,’ उनले भने, ‘सङ्घीयतालाई गलत विश्लेषण गर्नु हुँदैन सङ्घीयता खारेज हुने अवस्था आयो भने यसको दुरगामी असर पर्न सक्छ।’
संसदीय पत्रकार मञ्च कोसी प्रदेशले जेन्जी आन्दोलनपछि भएको क्षति, आगजनी पछिको सेवा प्रवाह र पुनःनिर्माणका सन्दर्भमा सांसद, पत्रकार र सरकारका मन्त्रीसँग छलफल गरेको हो।
कोसी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले विज्ञले दिएको सुझावका आधारमा पुनर्निर्माण गर्नुपर्ने संरचनाको पुनर्निर्माण गर्ने, सामान्य मर्मत संहार गर्नुपर्ने संरचनाहरूलाई तत्काल मर्मत सम्भार गरी प्रयोगमा ल्याउने तयारी भइरहेको बताए।
प्रदेश सभा अहिले भएको भवनबाट सञ्चालन हुन नसक्ने जानकारी दिँदै उनले एक हप्ताभित्रमा ठाउँ व्यवस्थापन भइसक्ने बताए।
कटहरी गाउँपालिकामा रहेको एकीकृत थोक तरकारी बजार स्थलमा रहेको संरचनाबाट प्रदेशसभा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको मन्त्री भण्डारीले जानकारी दिए।
आगामी मङ्सिर दोस्रो हप्ताभित्र प्रदेश सभा सञ्चालनका लागि अहिले सचिवालयका काम कारबाही सहज सुचारु गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जेन्जी आन्दोलनका क्रममा कोसी प्रदेशका १६ जनाको मृत्यु भएको बताए। उनले १९९ वटा स्थायी प्रदेश सरकारका संरचनाहरूमध्ये ५० वटा भौतिक संरचना पूर्ण रूपमा क्षति भएको समेत जानकारी दिए।
Shares

प्रतिक्रिया