कोशी


मेची राजमार्गका आधा दर्जन ठाउँमा पहिरो, तेह्रथुमबाट फिदिम हुँदै धरान झर्न सकिने

मेची राजमार्गका आधा दर्जन ठाउँमा पहिरो, तेह्रथुमबाट फिदिम हुँदै धरान झर्न सकिने

सुमन सुस्केरा
असोज २०, २०८२ सोमबार १६:१६, विराटनगर

अविरल वर्षापछि मेची राजमार्गका धेरै क्षेत्र अवरुद्ध  भएका छन्। पाँचथर र ताप्लेजुङ क्षेत्रमा ठाउँ  ठाउँमा पहिरो गए पनि अहिले सहज आवत जावत सुचारु रहेको भए पनि इलाम क्षेत्रमा राजमार्ग अवरुद्ध रहेको छ।

धेरै ठाउँमा सडक अवरोध भएको कारण खुल्न समय लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

इलाम जिल्लामा पर्ने मेची राजमार्गका धेरै खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सवारी साधनहरू रोकिएका छन् भने सर्वसाधारणको दैनिक आवागमन प्रभावित बनेको छ।

हालसम्म माई खोला, राज दुवाली, चुरेघाँटी, बिब्ल्याटे र पुवा खोलाको छेउमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार,  ती स्थानहरूमा पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ। कति ठाउँमा पहिरो गएको छ भन्ने बारेमा अहिले पनि अवस्था बुझ्ने कामहरू भइरहेको प्रहरीले जनाएको छ। 

इलामको राज दुवाली र माई खोला क्षेत्रमा साना र ठुला पहिरो झरेका कारण यातायात पूरै बन्द रहेको स्थानीयहरूले जनाएका छन्। निरन्तरको वर्षा पछि आएको पहिरोका कारण सडक अवरुद्ध भएपछि सवारी साधनहरू सञ्चालनमा आउन समस्या भएको छ।  

धनकुटाको तमोर हुँदै फिदिम जाने तमोर कोरिडोर सडकमा समेत ठाउँ ठाउँमा ठुलो पहिरो खसेको कारण सवारी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी अनिस कुमार कर्णले जानकारी दिए। 

मेची राजमार्ग र तमोर कोरिडोर अवरुद्ध भएपछि त्यसको विकल्प प्रयोग गर्न सुरक्षा निकायले सूचनाहरू जारी गरेका छन्।


ताप्लेजुङ र पाँचथरबाट  तराई झर्ने सवारी साधनहरू  तेह्रथुमको म्याङ्लुङ हुँदै मध्य पहाडी लोक मार्ग हुँदै धनकुटाको बाटो भएर  धरान जान भनिएको छ। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सूचना नै जारी गरेर ताप्लेजुङबाट तराईसम्म यात्राको लागि काबेली हुँदै पाँचथरको फिदिमबाट माझिटार, आठराई सङ्क्रान्ति, म्याङ्लुङ, वसन्तपुर, धनकुटा, भेडेटार, धरान हुँदै इटहरी सम्म जिप सञ्चालन गर्न सकिने उल्लेख गरेको छ।

ठुलो र माल बाहक सवारी साधन  बाहेक साना सवारी साधनहरू सञ्चालन गर्न एकतर्फी खुल्ला रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad