उदयपुरमा २२ जना सवार हायस गाडी खोलाले बगाउँदा महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार गएराति बा ४ ख १६२८ नम्बरको हायस उदयपुरको बेलका नगरपालिका-४ स्थित कजेवे खोलामा आएको बाढीले बगाएको हो।
शनिबार राति १२ बजेतिर कजेवे खोलाले हायस बगाएको थियो। गाडीमा सवार २२ यात्रुमध्ये २१ जनाको तत्काल उद्धार गरिए पनि एक महिला भने बेपत्ता भएकी थिइन्।
बेपत्ता महिला आज आइतबार बिहान १५ मिटर तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले जानकारी दिए।
उनी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकी अन्दाजी ४० वर्षिया मञ्जु अधिकारी रहेको उनले बताए।
उक्त हायस मोरङबाट काठमाडौँका लागि गइरहेको थियो। तर बाढीले बीपी राजमार्ग भत्काएले हायस मोरङतर्फ नै फर्किएको छ।
उद्धार गरिएका यात्रुमध्ये २० जनालाई प्रहरीले गन्तव्यतर्फ पठाएको छ भने एक जना घाइते भएकाले उनको उपचार रामपुर अस्पतालमा भइरहेको छ।
Shares

प्रतिक्रिया