पाँचथरको कुम्मायक गाउँपालिका–३, कात्तिके स्थित तमोर कोरिडोर सडक खण्डमा दुर्घटनामा परेर ज्यान गएका ६ जनाको अझै पहिचान खुल्न सकेको छैन।
बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। शनिबार (आज) दिउँसो करिब १२ बजेतिर ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे.१ ज.३०५५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल तमोर नदी किनारमा खसेको थियो।
दुर्घटनामा परी ३ महिला र ३ पुरुष गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी अनिस कुमार कर्णले जानकारी दिए। तीमध्ये ३ जनाको शव जिल्ला अस्पताल पाँचथर लगिएको छ भनेँ बाँकी ३ जनाको शव घटनास्थलमै रहेको र उद्धार कार्य भइरहेको डिएसपी कर्णले जानकारी दिए।
बोलेरोमा १२ जना सवार रहेका मध्ये ६ जना घाइते भएका छन्। उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। एक जनालाई जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएकोमा थप उपचारको लागि झापा रेफर गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरू मध्ये ताप्लेजुङ मेरिङ्देन गाउँपालिका ५ बस्ने वर्ष २२ को महेश लिम्बु निधार दायाँ आँखामाथि चोट लागेको, मिक्लाखोला गापा–४ बस्ने वर्ष २५ कि मनु सावा लिम्बु निधार, दायाँ आँखामाथि, अनुहार र छातीमा चोट, सोही पालिकाको कालीखोला बस्ने सन्तोष लिम्बुको छोरा वर्ष ७ को अनिश लिम्बु दायाँ खुट्टामा चोट लागेको र सुनसरी इटहरी उपमहानगरपालिका ७ बस्ने वर्ष ३५ को महेश गुरागाईँलाई बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार सुरु भएको प्रहरीले जनाएको छ।
त्यस्तै ताप्लेजुङ मेरिङ्देन गाउँपालिका ५ बस्ने करिब वर्ष २५ को विमल लिम्बुको टाउको र अनुहारमा चोट, अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पताल पाँचथरमा नै उपचार भइरहेको छ।
प्रहरीका अनुसार ताप्लेजुङ मिक्लाखोला गापा४ सावा बस्ने वर्ष ३० को संजोहाङ लिम्बुको टाउकोको पछाडिको भागमा गहिरो चोट, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पताल झापा तर्फ रेफर गरिएको डीएसपी कर्णले जानकारी दिए।
Shares

प्रतिक्रिया