विराटनगर महानगरपालिका वडा नम्बर १ मा रहेको विष्णुमाया पुस्तकालयमा जेनजी आन्दोलनको अघिल्लो दिनसम्म पनि आउजाउ गर्ने पुस्तक पढ्ने तथा ज्येष्ठ नागरिक केन्द्रमा रमाउन आउनेहरूको भिडभाड नै हुन्थ्यो। पछिल्लो केही दिन देखि सामुदायिक भवन तथा पुस्तकालयमा चहल पहल छैन।
आगामी कात्तिक महिनासम्मको लागि कार्यक्रम र गतिविधि गर्नकोलागि पुस्तकालय र पुस्तकालयले संचानल गरेको सामुदायिक भवनमा जेनजीको आन्दोलनको असर परेको छ।
यो पुस्तकालय पुस्तकालय भन्दा पनि सामुदायिक सिकाई केन्द्र बन्दै आएको छ। पुस्तक पढ्नेदेखि सामूहिक काम गर्ने अभ्यास समेत पुस्तकालय भित्रै हुँदै आएको छ। देशकै पुराना साहित्यिक तथा सामाजिक संस्थामध्ये एक, विष्णुमाया पुस्तकालय आज पनि आफ्नो गौरवशाली इतिहास बोकेर निरन्तर सक्रिय छ।
करिब सात दशकअघि सुरु भएको यो पुस्तकालय अहिले पुस्ता–पुस्ताले गरेको योगदान र सामाजिक सहयोगका आधारमा विराटनगरकै मात्र नभई पूर्वकै महत्त्वपूर्ण ज्ञान–संस्थाको रूपमा स्थापित भएको छ।
पछिल्लो समय विष्णुमाया पुस्तकालय, पुस्तकालय मात्रै रहेन यहाँ आउने पाहुनालाई सहज रूपमा बसाई, त्यसको व्यवस्थापन, विभिन्न कार्यक्रमहरू सञ्चालनका लागि सेमिनार हल लगायतका कार्यक्रमहरू आयोजना हुँदै आएका छन्। हिजोका दिनमा कम्युनिस्ट विचारधारा बोक्ने व्यक्तिहरूको अध्ययन केन्द्र बनेको यस पुस्तकालयले मार्क्सवादी सिद्धान्तसमेत पढाउँदै आएको थियो।
इतिहास बोकेको विष्णुमाया पुस्तकालय पछिल्लो समयमा महिलाहरूका लागि आयआर्जन गर्ने थलो समेत बनेको छ। हरेक दिन कार्यक्रम हुँदा झन्डै १२ जना महिलाहरूले क्याटरिङ सञ्चालन गर्छन्। उनीहरूको आयआर्जन पनि बढेको छ।
कार्यक्रम हुँदा क्याटरिङमा समय बिताउने महिलाहरू फुर्सद भएको बेलामा सीपसँग जोडिएका कामहरू पनि गर्दै आएका छन्। क्याटरिङको काम बाहेक पछिल्लो पाँच महिनादेखि उनीहरू भेला हुन्छन्, दुना टपरी बनाउँछन्, बत्ती काट्छन्, जनै बनाउँछन् अनि त्यो बनाएको सामग्रीलाई बिक्री गरेर पनि आयआर्जन गरिरहेका छन्।
नजिकैका व्यापारीहरू त्यहीँ आउँछन् र बनाएका सामग्री खरिद गरेर लिएर जान्छन्। यसले महिलालाई स्वरोजगारीमा सहजता बनाएको महिला सदस्य तुलसा कटुवालले बताइन्। गाउँका १२ जना महिलाले सामूहिक कामको सुरुवात गरेका हुन्।

के हो विष्णुमाया पुस्तकालय?
विराटनगरका प्रगतिशील सचेत युवाहरूले २०२२ सालमा नवीन योग साहित्यिक समितिको स्थापना गरेपछि यो पुस्तकालयको विधिवत् सुरुवात भएको थियो। समितिले तत्कालीन प्रधानपञ्च शङ्करप्रसाद गौतमको सहयोगमा २०२४ सालमा पुस्तकालय स्थापना गरेका हुन्।
पुस्तकालयको नामकरण आसामबाट आएका एकल महिला विष्णुमाया मिश्रको स्मृतिमा गरिएको हो। उनले आफ्नो १५ बिगाहा जग्गा पुस्तकालय तथा धर्मशालाको लागि दिने इच्छा पत्र बनाएपछि उक्त संस्था औपचारिक रूपमा स्थापित भएको हो।
योसँगै उनले पाँच बिगाहा जग्गा भोग सञ्चालनका लागि पनि दिइन्। विष्णुमायाको शेषपछि पुस्तकालयले भोग चलन गर्दै आएको पाँच बिगाहा जग्गा अंशियारहरूले लगे। तर, ट्रस्टका रूपमा गइसकेको हुँदा पाँच कट्ठा जग्गा भने जोगियो। अहिले सोही जग्गामा विराटनगर महानगरपालिका वडा नम्बर १ पोखरियामा विष्णुमाया पुस्तकालय सञ्चालनमा रहेको छ।
पुस्तकालयको उक्त भवनमा ज्येष्ठ नागरिक सेवा केन्द्र पनि सञ्चालनमा छ। ज्येष्ठ नागरिक सेवा केन्द्रमा हरेक दिन ज्येष्ठ नागरिकहरू मध्यान्न १ बजे भेला हुन्छन्, भजन कीर्तन गर्छन्, एक आपसमा आफ्ना दुःख सुख साटासाट गर्छन्।
पुस्तकालयको माथिल्लो भागमा रहेको सुविधा सम्पन्न सेमिनार कक्ष सञ्चालनमा छ। त्यस्तै परिसरमा रहेको सामुदायिक भवनमा आज पुस्तकालयसँग सामुदायिक भवनमा करिब ३० कोठा भएको धर्मशाला, १४ वटा एसी रुम र १६ वटा नन–एसी रुम छन्, जसलाई अत्यन्तै न्यून शुल्कमा सर्वसाधारणलाई उपलब्ध गराइन्छ।
विवाह, पार्टी तथा सामुदायिक कार्यक्रमका लागि पनि यो बहुउद्देश्यीय स्थल बनेको छ। ती कोठा सभा, उत्सव आयोजना गर्नेलाई मात्र उपलब्ध नगराई अध्ययन, अनुसन्धान गर्न चाहने अतिथिहरूलाई समेत प्रदान गरिँदै आइरहेको पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले बताए।

इ–लाइब्रेरी
पुस्तकालयले महायज्ञ (पुराण) आयोजना गरेर एक करोड २५ लाख रुपैयाँ सङ्कलन गरेर इ–लाइब्रेरी सञ्चालनमा ल्याएको छ। ई–लाइब्रेरीमा हालसम्म महत्त्वपूर्ण दश हजार बढी किताब संग्रहित छन्। थप महत्त्वपूर्ण किताबहरू सङ्ग्रह गर्ने क्रम चलिरहेको अध्यक्ष गौतम बताउँछन्। रामायण, महाभारतदेखि महाकाव्य अनि विभिन्न प्रगतिशील साहित्यका पुस्तक पढ्न चाहनेलाई इ–लाइब्रेरी सहज भएको छ।
वार्षिक एक सय रुपैयाँ शुल्क तिरेर विष्णुमाया इ–लाइब्रेरीको सदस्य बनेपछि उनीहरूलाई पुस्तकालयले कोड नम्बर प्रदान गर्दछ। उक्त कोड नम्बर लगअन गरेपछि जहाँ बसेर पनि आफूले चाहेको पुस्तक इन्टरनेटमार्फत अध्ययन गर्न सकिन्छ।
सङ्घर्ष र चुनौती
स्थापना–कालमै पुस्तकालयको जग्गा बिक्री गरेर विद्यालय सञ्चालन गर्ने प्रस्ताव आएका कारण ठूलो सङ्घर्ष सामना गर्नुपर्यो। तत्कालीन स्थानीय शक्तिशाली व्यक्ति भूपालमान सिंह कार्कीले जमिन बिक्री गर्न खोज्दा संस्थापक समूहले प्रतिरोध गरे। लामो द्वन्द्वपछि सहमतिको आधारमा जमिन पुस्तकालयकै नाममा सुरक्षित भयो। यसले संस्थालाई स्थायित्व दियो।
विष्णुमाया पुस्तकालय केवल किताब पढ्ने ठाउँ मात्र नभई सामुदायिक सेवा र समाजसेवाको केन्द्र बनेको छ। आर्थिक अभाव भएकालाई निःशुल्क बस्ने सुविधा, सामूहिक चाडपर्व, धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ। हरेक वर्ष सामुदायिक भवन भित्र जमरा रोप्ने, सामूहिक चण्डी पाठ गर्ने कार्य पनि भए।
साहित्यिक चेतना जगाउने अभियानबाट सुरु भएको यो संस्था आज विराटनगरकै मात्र होइन, देशकै सामाजिक, सांस्कृतिक र शैक्षिक जीवनमा अमूल्य धरोहरको रूपमा स्थापित छ। संस्थापक पुस्ताले रोपेको बीउ अहिले सशक्त वृक्ष बनेर समाजलाई शिक्षा, सेवा र प्रेरणा दिइरहेको छ।
Shares

प्रतिक्रिया