सामान्य दिन जस्तै लाग्थ्यो। तर त्यही दिनले दुई परिवारको भविष्य सधैँका लागि अन्धकारमा बनायो। प्रहरीको गोलीले दुई निर्दोष जीवनलाई चुँडेर लग्यो।
एक युवा जसले परदेशको बाटो समाएर घरमा उज्यालो ल्याउने सपना बोकेका थिए, र अर्को श्रमिक जसले पसिनाको भरमा आफ्ना नानीहरूलाई पेट भर्ने र भविष्य बनाउन लडिरहेका थिए। इटहरीका अभिषेक श्रेष्ठ र मोहन सरदार परिवारको आर्थिक अवस्था सुधार गर्न संघर्ष गरिरहेका थिए।
तर परिवारमा उज्यालो ल्याउने उनीहरूको सपना त्यसै चुँडियो। भाद्र २४ गते जेन्जी आन्दोलनले रण मैदान बनेको इटहरीमा प्रहरीको गोली लागेर उनीहरू ढले। उनीहरूको परिवार अहिले शोकमा डुबेको छ।
प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ वैदेशिक रोजगारीमा जाने अन्तिम तयारीमा थिए। सुनसरीको रामधुनी नगरपालिकाको तित्रिबना स्थायी घर भएका श्रेष्ठ साउदी अरब जान केही अघि मात्र काठमाडौँमा कागजपत्र बुझाएर आएका थिए। भिसा समेत आइसकेको श्रेष्ठको परिवारले जानकारी दिएको छ।
भाद्र २४ गते जेनजीको आन्दोलनमा सहभागी श्रेष्ठलाई प्रहरीले सिधै हानेको गोली लाग्यो। उनी नगरपालिका अगाडिको सडकमा ढले। अत्यधिक रक्तस्राव भयो। उनको घटनास्थलमै ज्यान गयो।
इटहरी- ५ मा भाडामा बस्दै आएका श्रेष्ठ इटहरीकै एक होटलमा पार्ट टाइम फोटोग्राफीको काम गर्थे। नेपालको आम्दानीले परिवार चलाउन गाह्रो भएपछि उनी वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगेको परिवारले जानकारी दिएको छ।
विदेश जानकै लागि उनले केही समय अघि काठमाडौँ वारिष्टाको तालिम लिएका थिए। तालिम सकेर म्यानपावरमा कागजपत्र बुझाएर घर फर्किएका उनी साउदी उड्ने अन्तिम तयारीमा थिए। तर उनी साउदी उड्नु अघि उनको जीवन नै कहिल्यै नफर्किने गरी अस्ताए।
मजदुरी गरेर फर्किँदै थिए मोहन
श्रेष्ठसँगै मृत्यु भएका इटहरी १४ का मोहन सरदारको परिवारको पिडा अझै दुःखदायी छ। सरदारको ४ दिन पछि मात्र पहिचान खुलेको थियो। इटहरीको गैसारका ‘चङ्खे’ उपनामले परिचित ३५ वर्षीय सरदार निर्माण मजदुर हुन। मजदुरी गरी परिवार चलाउँछन्।
दुई छोरीका बुबा सरदार एक्लैले ज्याला मजदुरी गरी कमाएको पैसाले परिवार चलाउन गाह्रो भएपछि श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाएका थिए। सरदारकी श्रीमती वैदेशिक रोजगारीबाट फर्किएको केही महिना मात्रै भएको थियो।
इटहरी आसपास घर तथा बाटो निर्माणको क्षेत्रमा काम गर्दै आएका सरदार आन्दोलनको दिन पनि मजदुरी गरेर फर्किएका थिए। इटहरी-४ स्थित भेटघाट चौक क्षेत्रमा मजदुरी गरी घर फर्कँदै गरेका सरदार घर पुग्नै पाएनन्। बीचचमै प्रहरीले चलाएको गोली लागेर ढले।
इलाका प्रहरी कार्यालयमा आगो लगाउन उत्तेजित बनेको भीड भगाउन प्रहरीले गोली चलाएको थियो। घर फर्कँदै गरेका सरदार इटहरी उपमहानगरपालिकाअगाडि मात्रै पुगेका थिए। उत्तेजित भीड उनी भएकै तिर मोडियो। प्रहरीले खेदाउँदै गोली चलाउँदा सरदारलाई गोली लागेको स्थानीय गोविन्द थापाले जानकारी दिए। उनको ढाडमा गोली लागेको छ।
प्रहरी र स्थानीयको सहयोगमा उनलाई एम्बुलेन्समा हालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो। उनलाई अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरे।
सरदारको परिवार अहिले शोकमा डुबेको छ। अब घर परिवार कसरी चलाउने अन्यौलता छाएको छ। श्रीमतीले वैदेशिक रोजगारीबाट कमाएको पैसा पनि सरदारले भर्खरै घर मर्मतमा खर्च गरेका थिए।
परिवारमा अर्को कुनै आर्थिक स्रोत छैन। दुई छोरीको पढाई खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताएको छ। कमाउने मुख्य मान्छे नै बितेपछि कसरी परिवार चलाउने कुनै उपाय नदेखेको सरदार परिवार बताउँछ।
Shares

प्रतिक्रिया