समाज


जेनजी आन्दोलनका घाइते शिवमलाई अस्पतालले बिल नतिरी डिस्चार्ज नदिएपछि…

जेनजी आन्दोलनका घाइते शिवमलाई अस्पतालले बिल नतिरी डिस्चार्ज नदिएपछि…

आयुषा ढकाल
असोज ४, २०८२ शनिबार २२:४६, काठमाडौँ

जेनजी आन्दोलनमा घाइते भएका दुर्गावती, रौतहटका १६ वर्षीय शिवमकुमार झालाई अस्पतालले बिल नतिरी डिस्चार्ज नदिएपछि ऋण गरेर घर फर्किनुपरेको छ।

करिब ४० हजार रूपैयाँ खर्च लागेको र कतैबाट पनि सहयोग नपाएपछि ऋण गरेर अस्पतालबाट डिस्चार्ज गर्नुपरेको उनका छिमेकी दाइ सञ्जीव झा बताउँछन्। उनका अनुसार, शिवमका बुवाआमा ज्याला मजदुरीबाट गुजारा गर्दै आएका छन्।

काठमाडौँको माइतीघरमा जेन्जी आन्दोलन हुँदै गर्दा त्यस्तै जोस देशका अन्य भूभागमा बस्ने युवामा पनि आएको थियो। आन्दोलनको पहिलो दिन भदौ २३ गते साथीहरूलाई प्रहरीले कुटपिट गरेर टाउको फुटाइदिएपछि भोलिपल्ट त्यसको विरोध गर्न शिवम पनि आन्दोलनमा गएका थिए। करिब साढे ४ बजेतिर प्रहरीले अन्धाधुन्ध प्रहार गर्न थाल्यो। सोही क्रममा शिवम् भाग्न खोज्दा जुत्ता चिप्लिएर मुख्‍य सडकमा पछारिए, जहाँ फुटेका सिसाका धेरै टुक्रा थिए।

लड्दाखेरि शिवमको देब्रे हातको नारी र पाखुराको नसा काटियो। नसा काटिएर अत्यधिक सक्तस्राब भयो र उनी बेहोस भए।

साथीहरूले उनलाई घरबाट अलिक पर रहेको क्लिनिकमा लगे। क्लिनिकले ६ हजार शुल्क लिएर पनि रगत रोक्न नसकेपछि राति नै रौतहटको चपुरस्थित सिभिल अस्पताल लगिएको थियो।

सञ्जीवका अनुसार उक्त अस्पतालमा ‘यहाँ निःशुल्क उपचार हुन सक्दैन, हामीलाई सरकारको तर्फबाट कुनै पनि किसिमको सहयोग आएको छैन, हामीले केही पनि गर्न सक्दैनौँ’ भनियो। दुई ठाउँबाट चुँडिएको शिवमको नसालाई त जोडियो तर हरेक दिन छाक टार्न ज्याला मजदुरी गर्ने उनका बुबाआमाले सो रकम कसरी जुटाउने?

उपचार खर्च नतिरी अस्पतालबाट डिस्चार्ज गर्न नमिल्ने अनि अस्पतालमै बस्दा खर्च झनै बढ्ने भएपछि शिवमको परिवार झन् चपेटामा पर्‍यो। खर्च धेरै बढ्ने देखिएपछि शिवमका मामाले धेरैतिर हारगुहार गरेर ऋणको रुपमा २० हजार खर्च जुटाएर भान्जालाई हिजो भर्खर अस्पतालबाट घर ल्याएका छन्। शिवमको घाउ केही हदसम्म ठिक हुँदै गएको छ।

उनको लागि औषधि खर्च र अरू सबै अस्पतालमा लागेको खर्च जोड्दा लगभग ४० हजार भइसकेको छ।

शिवमका बुबाआमाको काँधमा ५ जना छोराछोरीको जिम्मेवारी छ। एउटा सामान्य ज्याला मज्दुरी गरेर खाने परिवारमाथि एकैपटक ४० हजार रुपैयाँको बोझ थपिएपछि निकै गाह्रो परेको सञ्जीव बताउँछन्।

शिवमले भर्खरै एसईई गरेर घरपरिवारले पढाउन नसक्ने भनेपछि मामाघर चन्द्रनिगाहपुरमा बसिरहेका थिए। छोरालाई ११ कक्षामा भर्ना गर्न पनि नसकेका शिवमका आमाबुवा अब त्यो ऋण कसरी तिर्ने भन्‍ने चिन्तामा रहेको सञ्जीवले नेपालखबरसँग बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad