कोशी


जेनजी प्रदर्शनमा ज्यान गुमाउने मृतकका परिवारलाई कोसी सरकारले एक लाख राहत दिने

जेनजी प्रदर्शनमा ज्यान गुमाउने मृतकका परिवारलाई कोसी सरकारले एक लाख राहत दिने

नेपालखबर
असोज २, २०८२ बिहिबार २२:१९, विराटनगर

कोसी प्रदेश सरकारले जेनजी विरोध प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई प्रतिव्यक्ति एक–एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। कोशी प्रदेश मन्त्रिपरिषद्‌को  बिहिवार साँझ बसेको  बैठकले मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने निर्णयसमेत गरेको छ। साथै, प्रदर्शनका क्रममा क्षति पुगेका भवन, सवारीसाधन र अन्य सार्वजनिक सम्पत्तिको मूल्यांकन गरी आवश्यक पुनर्निर्माणका लागि लाग्ने लागत अनुमान सहित कात्तिक ९ गतेसम्ममा प्रतिवेदन पेश गर्ने जिम्मा सम्बन्धित मन्त्रालयलाई दिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताए।

साथै, प्रदर्शनका क्रममा नोक्सान पुगेका सार्वजनिक सम्पत्ति, भवन तथा सवारीसाधनको मूल्यांकन गरी पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने सम्बन्धी कार्य भौतिक पूर्वाधार  विकास मन्त्रालयलाई जिम्मा दिइएको छ।

त्यसैगरी, पाँच लाखभन्दा माथिका पूँजीगत कार्यक्रमहरू अस्थायी रूपमा स्थगित गर्ने तथा तालिम, गोष्ठी, सेमिनार जस्ता गतिविधिहरू रोक्का गरी त्यसबाट बचत हुने रकम पुनर्निर्माणमा प्रयोग गर्न कति रकमआउँछ त्यसको विवरण तयार गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन दिने  निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए।

त्यस्तै बैठकले प्रदेश सरकार मातहतका सवारी साधनमा भएको क्षति, मर्मत गरेर संचालन गर्न सकिने सवारी, तोडफोड मात्रै भएका र पुर्ण क्षति भएका सवारीको विवरण असोज मसान्तसम्म पेस गर्न पनि निर्देशन दिएको छ।

बैठकमा स्वास्थ्य, सामाजिक विकास, कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयका अस्थायी दरबन्दी व्यवस्थाबारे अघिल्लो बर्ष कायम रहेको दरबन्दीलाई नै कायम गरी स्वीकृति दिने निर्णय गरिएको छ।

बैठकको प्रारम्भमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वर्तमान परिस्थितिको सामान्य समीक्षा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad