खोटाङमा एक महिलाको हत्या भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २६ वर्षीय रेस्मिका परियारको हत्या भएको अवस्थामा शव फेला परेको छ।
सोमबार राति १० बजे शव जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए। बिहान १० बजे अफिस जाने भनेर हिँडेकी परियार राति मृत फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयले यसलाई शङ्कास्पद मृत्यु भन्दै बलात्कारपछि हत्याको आशङ्का गरेका छन्। तर, प्रहरीले भने शव परीक्षण नगरी कुनै निष्कर्षमा पुग्न नमिल्ने बताएको छ। निरन्तर वर्षाले शव भिजेकाले प्रारम्भिक अवलोकन कठिन भएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानमा रेस्मिकालाई आपराधिक समूहले हत्या गरेको आशङ्का गरिएको छ।
रेश्मिका प्रेम विवाह गरेर खोटाङमा बस्दै आएकी थिइन्। उनकी करिब ७ वर्षकी एक छोरी छिन्। माइती पक्ष काठमाडौँमै बस्दै आएका छन्। उनीहरू घटनास्थलतर्फ आइरहेकाले माइती पक्ष घटनास्थलमा नपुगुन्जेल शवलाई प्रहरीले सुरक्षित राखेको डिएसपी बुढाथोकीले बताए।
उनका श्रीमान् रबिन परियार घटनापछि प्रहरीसँग सम्पर्कमा रहेको डीएसपी बुढाथोकीले बताए।
प्रहरीले घटनास्थल सुरक्षित राखी शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको भए पनि माइती पक्ष नआउँदा कानुनी प्रक्रिया पूरा गर्न ढिला भएको प्रहरीले जनाएको छ।
हत्या भएको खबर आएको समय गए राति १० बजेदेखि नै प्रहरी घटनास्थलमा रहेको उनले बताए। मृतकको शव घोप्टो परेको अवस्थामा रहेकोले के कारणले हत्या भएको हो भन्नेमा प्रहरी अन्योलमा छ।
Shares

प्रतिक्रिया