‘मैले गल्ती गरेको भए, तपाईँहरू सिधै आएर भन्न सक्ने अवस्था छ। भ्रष्टाचार गरेको देखाउनुस्, म जल्न तयार छु। यहाँ घर छानीछानी आगो लगाएको छ, अहिले कहाँ जाने, के खाने? अहिले घर सबै खरानी बनाएको छ। कामको सिलसिलामा काठमाडौँमा भएको मान्छे अहिले फर्किएर आउँदा बस्ने ठाउँ छैन। अब कहाँ बस्ने?’
यसो भनेरर भाव विह्वल रुँदै रोइन्- त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई।
उनले थपिन्, ‘लामो समयसम्म सामाजिक काममा समाजसेवा गरेका हामीलाई गल्ती गरेको भए सिधै आएर भन्न सक्ने हैसियत छ, यो गल्ती गरिस् छोरी, यो भएन चेली भनेर भन्नुपर्ने हैन? हामीले के अपराध गरेको थियौँ र, हाम्रो घर छानीछानी आगो लगाइयो?’
आइतबार त्रियुगा नगरपालिकामा आन्दोलनकारीबाट व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनी डाँको छाडेरै रोइन्।
‘यदि जनप्रतिनिधि भएपछि कुनै पनि भ्रष्टाचार गरेको प्रमाण लिएर आउनुभयो भने मेरो घर (मन्दिर) जसरी जलाइएको छ, म त्यसै गरी जल्न तयार छु,’ महेश्वरीले भनिन्, ‘व्यक्ति छानेर घरमा आउने लगाउने काम भएको छ, सबैले जनप्रतिनिधि हुनुभन्दा अगाडि नै बनाएको घर हो, कसैले भ्रष्टाचार गरेर घर बनाएका हैनौँ।’
उपमेयर महेश्वरीको रुवाबासीले पत्रकार सम्मेलन नै स्तब्ध भएको थियो।
आफ्नो सबै सम्पत्ति जलाइएको पीडामा रहेकी कोसी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार पनि थामिन सकिनन्। उनी पनि टाउकोमा हात राखेर रुन थालिन्।
भनिन्, ‘मेरी आमाले दिएको उपहार सबै खरानी बनाए। मन दुखेको छ, मेरी आमाले दु:ख गरेर, मेरो खुसीको निम्ति आफ्नो खुसी त्यागेर, संघर्ष गरेर र आफ्नो बलबुताले आर्जेको सम्पत्ति हो, त्यही सम्पत्ति बेचेर अनि बैंकबाट ऋण लिएर घर बनाएको थिएँ।’
‘म शब्दमा व्यक्त गर्न सक्दिनँ- त्यो घर भित्र मेरो अभिभावकको रगत-पसिना, इमानदारिता र माया छ,’ उनले थपिन्, ‘मेरो सम्पत्ति छानबिन होस्, भदौ २४ गते जे भयो, त्यो सचेत जेनजीका युवा भाइबहिनीहरूबाट भएकै होइन।’
अपराध गर्नेहरू आफूले चिनेजानेको रहेको पनि उनले बताइन्।
त्रियुगा नगरपालिका प्रमुख वसन्तकुमार बस्नेतले त्रियुगा नगरपालिकाका महत्त्वपूर्ण कार्यालयहरू तथा वडा नं. ११ र व्यक्तिगत घर तथा सेवाग्राही केन्द्रहरूमा लुटपाट र आगजनी भएको बताए।
उनले भने, ‘यसले गाउँ टोल र घरघरसम्म असर पुर्याउनु धेरै परिवार गृहस्थलविहीन हुने अवस्था आएको छ।’
Shares

प्रतिक्रिया