कोशी


‘कोसी प्रदेश आमसञ्चार विधेयक’को विरोधमा महासंघद्वारा विरोधका कार्यक्रम सार्वजनिक

‘कोसी प्रदेश आमसञ्चार विधेयक’को विरोधमा महासंघद्वारा विरोधका कार्यक्रम सार्वजनिक

नेपालखबर
भदौ ८, २०८२ आइतबार २१:२९, विराटनगर

कोसी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको ‘कोसी प्रदेश आमसञ्चार विधेयक’ प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघले विधेयकका प्रावधानहरू ‘संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको मर्म विपरीत’ भन्दै तत्काल सच्याउन प्रदेश सरकारलाई चेतावनी दिएको हो।

भदौ ८ गते विराटनगरमा आयोजित सर्वपक्षीय छलफलपछि महासंघले विज्ञप्ति जारी गर्दै विधेयकमा समावेश भएका प्रावधानले स्वतन्त्र सञ्चारमाध्यमलाई नियन्त्रणमा राख्ने उद्देश्य राखेको ठहर गरेको छ। छलफलमा विभिन्न सञ्चार संगठनका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरू सहभागी थिए।

छलफलमा सहभागीहरूले ‘विधेयक जसरी पेश भएको छ, त्यसलाई स्वीकार गर्न सकिँदैन, सच्याउन दबाब सिर्जना गर्नैपर्छ’ भन्ने निष्कर्ष निकालेको महासंघकी महासचिव हिमाकुमारी चेम्जोङले बताइन्।

पहिलो चरणमा महासंघले आन्दोलनका पाँच चरणका कार्यक्रम सार्वजनिक गरेको छ।

भदौ ९ गते- प्रदेशभरिका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेजीको माग गर्दै पोस्ट गर्ने।
भदौ १० गते- मुख्यमन्त्री, सम्बन्धित मन्त्री तथा प्रदेशसभाका संसदीय दलका नेता र प्रमुख सचेतकलाई भेटेर ध्यानाकर्षण गराउने।
भदौ ११ गते- प्रदेशसभा सदस्यहरूलाई सन्देश ९क्ःक्० पठाई विधेयक सच्याउन आग्रह गर्ने।
भदौ १२ गते- प्रदेश समितिले मुख्यमन्त्री कार्यालय अगाडि र जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने।
भदौ १३ गते- विराटनगरस्थित देवकोटा चौकमा दिउँसो १ बजे सामूहिक धर्ना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

महासंघले सबै जिल्ला शाखा, सदस्य पत्रकार र सञ्चारकर्मीलाई आन्दोलनमा सक्रिय सहभागिताको आह्वान गरेको छ।

यो विधेयक पारित भएमा प्रेस स्वतन्त्रता गम्भीर रूपमा असर गर्ने भन्दै यो केवल पत्रकारहरूको मात्र मुद्दा नभई सम्पूर्ण नागरिकको अभिव्यक्ति स्वतन्त्रताको प्रश्न भएको कोसी प्रदेश समितिका अध्यक्ष भरत खड्काले बताए।

प्रस्तावित ‘कोसी प्रदेश आमसञ्चार विधेयक’ न्याय प्रशासन तथा विधायन समितिको टुंगोपछि प्रदेशसभामा पेश गरिएको छ। यसअघि नै महासंघले उक्त विधेयकका केही प्रावधान संशोधन नगरे विरोधमा उत्रने चेतावनी दिएको थियो।

विधेयको विरोधमा आइतबार प्रेस युनियनले विराटनगरमा उल्टो हिँडेर विरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad