उदयपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
जिल्लाको बेलका नगरपालिका–२ स्थित जगना खोलाको किनारमा बेवारिसे अवस्थामा फेला परेको कारसहित २४० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र बसाहा प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले बा.२१ च १८११ नम्बरको कार जाँच गर्दा २ बोरा गाँजा फेला परेको थियो।
त्यस्तै, सोही कार छेउको खोला किनारमा थप ७ बोरा गाँजा भेटिएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल २४० किलो पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रहरीले कारसहित बरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला लगेको छ। गाँजा ओसार–पसारमा संलग्न व्यक्तिहरूको खोजतलास र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–१७ का २२ वर्षीय मौषम राई र योगेन राईलाई ट्रामाडोल १०७ क्याप्सुल र डिकोलिक १०८ ट्याब्लेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया