आगामी भदौमा हुने नेकपा एमालेको विधान महाधिवेशनका लागि सुझाव संकलन गर्न पार्टीको कोसी प्रदेश कमिटीले कार्यदल गठन गरेको छ।
विधान महाधिवेशनमा समेट्नुपर्ने विषयमा सुझाव संकलन गर्न एमाले कोसी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरिएको हो।
मंगलबार र बुधबार धनकुटाको हिलेमा बसेको एमाले प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव संकलन गरेर केन्द्रमा पठाउन कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।
उनका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गिरी (झापा), इन्द्रमणि पराजुली (धनकुटा), खड्ग राई (संखुवासभा), ईश्वरमणि राउत (उदयपुर), सत्यनारायण चौधरी (मोरङ) छन्। यसैगरी कार्यदलमा सिर्जना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) पनि सदस्य छन्।
प्रदेश अध्यक्ष खतिवडाका अनुसार भदौ ३ देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटीका बैठक राखिनेछ।
बैठकमा विधान संशोधनका विषयमा व्यापक बहस गर्दै प्राप्त सुझाव प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी रहेको उनले बताए।
उनका अनुसार जिल्लाका बैठकमा अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिनेछ।
Shares

प्रतिक्रिया