कोसी प्रदेशमा नेपाली कांग्रेसले सभामुख दाबी गरेको छ। एमाले कांग्रेस सत्ता साझेदार दलहरूको बिचमा मन्त्री फेर्ने तयारी भइरहेको बेलामा नेपाली कांग्रेसले कोसी प्रदेशमा सभामुखको दाबी गरेको हो।
कोसीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सभामुख छन्। २०८० पुस २४ गते कोसी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित भएका थिए।
दुई ठूला दल सँगै हुँदा पनि सभामुख पद राप्रपालाई नै छाडिएको भन्दै कांग्रेस एमालेको पार्टीभित्रै आलोचना हुँदै आएको थियो।
नेकपा माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले राजीनामा दिएपछि सभामुख पद लामो समयदेखि रिक्त थियो।
कोसी प्रदेश सभामा माओवादी र कांग्रेस बिचको सत्ता गठबन्धन भएको बेलामा सरकार गठनमा राप्रपाको साथ नपाएपछि बहुमत जुटाउन गौतमले राजीनामा दिएसँगै मुख्यमन्त्री दाबी गरेका थिए। गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुर्याएको थियो।
उनै गौतमले पहिलो पटक २०८० असार २२ गते थापालाई मुख्यमन्त्री बनाउन पदमा रहँदै हस्ताक्षर गरेर पठाएका थिए। त्यसपछि गौतम विवादमा परे। अदालतले उनको हस्ताक्षरलाई मान्यता नदिएपछि उनी राजीनामा दिन तयार भए। २०८० साउन १६ गते सभामुख पदबाट गौतमले राजीनामा दिएका थिए।
उक्त राजीनामापछि, कांग्रेस (२९), माओवादी (१३), एकीकृत समाजवादी (४), र जनता समाजवादी पार्टी (१) गरी गठबन्धनमा ४७ जना सांसद पुर्याएर मुख्यमन्त्रीमा उद्धव थापाले दाबी प्रस्तुत गरेका थिए।
२०८० साउन १८ गतेदेखि पुस २४ गतेसम्म सभामुख रिक्त भएपछि त्यसको जिम्मेवारी उपसभामुख सिर्जना दनुवारले निभाएकी थिइन्। अन्ततः सभामुखको निर्वाचनमा कांग्रेस र एमाले लगाएतका कुनै पनि दलले उम्मेदवारी दर्ता नगराएपछि राप्रपाका सांसद अम्बर बहादुर विष्ट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।
प्रदेश संरचनाको विरोध गर्दै हिन्दू राष्ट्र सहित राजसंस्थाको पक्षमा वकालत गर्दै आएको राप्रपाको सभामुखलाई दलहरूले बोकेर हिँड्नु परेको गुनासो गर्दै आएका छन्। सभामुखको कार्यशैली माथि नै दलहरूले प्रश्न उठाउँदै आएका थिए।
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसको बिचमा भएको गठबन्धन सरकार दुई तिहाइ भएको अवस्थामा सभामुख अर्को कुनै पार्टीले चलाई रहनु ठिक नहुने निष्कर्ष सहित कांग्रेसले सभामुख पद दाबी गरेको हो।
कांग्रेसका संसदीय दलका नेता उद्धव थापा र कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीका बिच आन्तरिक तयारी भइरहेको स्रोतले जनाएको छ। मुख्यमन्त्री कार्कीले काठमाडौँमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको भेटपछि यो विषयमा समेत छलफल भएर टुङ्गो लागेको स्रोतको दाबी छ।
कांग्रेस संसदीय दल भित्र सभामुख कांग्रेसले लिनु पर्ने चर्चा भए पनि केन्द्रीय निर्देशन कुरेर बसेको छ। दुई दलका नेताहरूको बिचमा यो विषय सहमति नजिक रहेको जनाइएको छ। आगामी भदौ १५ सम्ममा मन्त्रिमण्डल हेरफेर सँगै सभामुख फेर्ने तयारीमा दुई दल देखिएका छन्।
यस बारेमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अरू प्रदेशमा कांग्रेसको सभामुख नभएको भन्दै कोसी प्रदेशको सभामुख दाबी गरेको पुष्टि गरे।
कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले सभामुख चयनबारे कांग्रेसभित्र अझै औपचारिक तहमा छलफल सुरु नभएको बताए। अनौपचारिक कुराकानीहरू भए पनि दलभित्र औपचारिक कुरा नभएको उनको भनाई छ।
उनले भने, ‘हाम्रो लेभलमा त धेरै कुरा भएको छैन, यो विषय दलको नेतासँग मात्र भएको भए हुनसक्छ।’
कांग्रेसभित्र असोज पहिलो साता वा भदौ अन्त्यसम्ममा सरकार पुनर्गठन र सभामुख चयन गर्ने तयारी छ। सरकारको नेतृत्व गरेको एमालेले भने भदौ १५ सम्ममा मन्त्रिमण्डल पुनर्गठन गर्ने गरि आन्तरिक गृहकार्य गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया