कोशी


कोसीमा मन्त्री फेर्ने अन्तिम कसरत: मुख्यमन्त्रीले भेटे देउवा र ओलीलाई

कोसीमा मन्त्री फेर्ने अन्तिम कसरत: मुख्यमन्त्रीले भेटे देउवा र ओलीलाई

नेपालखबर
साउन २५, २०८२ आइतबार १६:७, विराटनगर

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की कोसीमा मन्त्री परिवर्तन गर्ने अन्तिम कसरतमा लागेका छन्। उनले  आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। 

दुवै शीर्ष नेतासँगको भेटमा प्रदेशका मन्त्री फिर्ता बोलाउने विषयमा भन्दा पनि समसामयिक विषयमा छलफल केन्द्रित भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। 

कोसी प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले सबै मन्त्री फिर्ता बोलाउने तयारी गरिरहेका छन्। त्यसैको आधारमा मुख्यमन्त्रीले देउवा र ओलीलाई भेट गरेको जनाइएको छ।

यद्यपि मुख्यमन्त्री कार्कीले मन्त्रालयको काम कारबाही र मन्त्रालयका गतिविधि सहित अहिलेको भाषा विधेयकको बारेमा जानकारी गराइएको बताए।

एमाले–कांग्रेस गठबन्धनको सरकार बनेको एक वर्षभित्रै धेरै मन्त्री विवादित भइसकेका छन्। कोही क्यूआर कोडमा, कोही कमिसनमा, कोही व्यक्तिलाई कुटपिट गरेको लगायत घटनामा मुछिएका छन्।

मन्त्री भएकै कारण एकलौटी बजेट आफ्नो निर्वाचन क्षेत्रमा पारेको भनेर पनि सम्बन्धित पार्टीकै संसदीय दलको बैठकमा त्यस्तालाई फिर्ता बोलाउनुपर्ने आवाज उठिरहेको छ।

क्युआर कोडको विवादमा परेका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई फिर्ता बोलाउन यसअघि नै पटक पटक भनिए पनि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको दबाबमा रोकिएको छ।

मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘एमालेको सबै मन्त्रीहरूलाई नै फिर्ता बोलाउने भन्ने केन्द्रीय नीति हो, त्यहीअनुसार नै कोसीमा पनि तयारी भइरहेको छ।’ 

कोसी प्रदेशमा अहिले एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी र राज्यमन्त्री सिर्जना राई छन्।

त्यस्तै नेपाली कांग्रेसबाट भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल छन्।

प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाको भेटमा कोसी प्रदेशको समग्र अवस्थाको बारेमा जानकारी गराउने काम भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए।

मन्त्री हेरफेर गर्ने बारेमा प्रधानमन्त्री ओलीले छलफल गरिने प्रतिक्रिया दिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ।

नेपाली कांग्रेसले भने अहिले बागमती प्रदेशमा देखिएको समस्या चाँडै समाधान गरेर कोसीमा मन्त्री हेरफेर हुने बताउँदै आएको निकट स्रोतको दाबी छ। नेपाली कांग्रेस निकट स्रोतका अनुसार, नेपाली कांग्रेसले दश दिन पछि सरकारका मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad