कोशी


जब सांसदले कोलकतामा सुन्तला महोत्सवमा पाएको दुःख पोखिन्...

जब सांसदले कोलकतामा सुन्तला महोत्सवमा पाएको दुःख पोखिन्...

सुमन सुस्केरा
साउन २३, २०८२ शुक्रबार २२:१४, विराटनगर

उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकमा बोल्ने आफ्नो पालो आउँदा प्रदेश सभा सदस्य सुनिता कुमारी गच्छदार केही बेर अलमलिइन्।

‘धेरै कुरा त आइसके, उनले हल्का स्वरमा सुरु गरिन्, ‘तर यो मेरो अनुभव हो, जसलाई म यहाँ राख्न चाहन्छु।’

उनको अनुहारमा यात्रा थकानको छायाँ अझै झल्किरहेको थियो।

उनी २०८१ मङ्सिर १० को बिहान कोलकत्ताको ‘सुन्तला महोत्सव’मा सहभागी हुन हिँडेकी थिइन्। नाम सुन्दा उत्साहपूर्ण लाग्ने त्यो भ्रमणको सुरुवात नै हतारले भएको उनले सम्झिइन्।

‘हामीलाई अघिल्लो दिन मात्र भनियो, भोलि जानुपर्छ। कहाँ जादैछौं, किन जादैछौं, कसले आयोजना गरेको कार्यक्रम हो कसैले पनि भनेनन्, केही थाहा थिएन।’

गच्छदारका अनुसार, बिहान नौ बजे विराटनगरबाट गाडी छुट्यो।

‘हामीलाई दिउँसो २ बजेसम्म काँकडभिट्टा सम्म जान भनिएको थियो। जानु पर्ने यात्रा लामो थियो, तर यात्रा तयारीको जस्तो थिएन। बाटोमा कहाँ खाना खाने, कहाँ बस्ने, कसरी जाने भन्ने केही पनि भनिएको थिएन। दिउँसोको घाम चर्कँदै गर्दा हामी गन्तव्यतर्फ पुग्दै थियौँ। काँकडभिट्टामा  कार्यक्रम सुरु भइसकेको रहेछ।’

भोकै पुगेका प्रदेश सभा सदस्यहरू ४ जनालाई त्यहाँ खाजाका रूपमा चाउमिन खान दिएको सुनाइन्। २ बजे बोलाइएकोमा रातीको ९ बजे मात्रै भारत तर्फको पानी ट्याङ्कीमा लगेर पुर्‍याएको र सांसदहरूको कुनै महत्त्व नै नहुने गरी सबैलाई गाडीमा हालेर लगेको बताइन्। 

‘त्यहाँ पुग्दा हामीलाई स्टेडियममा लगेर बसाइयो न बस्ने व्यवस्था, न खाने। पछि होटेलमा लगियो, तर बिल भने हामीमाथि नै,’ उनले भनिन्।

गच्छदारको स्वर बिस्तारै धारिलो बन्दै गयो।

‘यो त सुन्तला महोत्सवको लागि कुनै कार्यक्रममा सहभागी हुने भ्रमण होइन, गङ्गा स्नान गर्न लगाएको जस्तो भयो, दूतावासलाई जानकारी थियो कि थिएन, मन्त्रीलाई स्पष्ट थाहा थिएन, हामीलाई अझै यस्तो व्यवस्थापनका विषयमा जानकारी नै थिएन। माननीयको हैसियत राख्ने कुरा कहीँ पनि थिएन, उहाँहरूले बिर्सनु भएको थियो।’

यो पठाउने काम मुख्यमन्त्री, दलको नेताहरूबाट भएको उनले त्यहाँ जानकारी गराइन्।

यो यात्रा केवल असुविधामा मात्र सीमित थिएन, जोखिम पनि थियो। उनका अनुसार कलकत्ता पुग्नु अघि नै बाटोमा उनीहरू चढेको गाडीलाई अर्को गाडीले ठक्कर दियो।

सांसद गच्छदारले भन्दै गइन्, ‘ड्राइभरहरूबीच झगडा भयो। हामी सांसदहरू यात्रु भएर असुरक्षित महसुस गर्न बाध्य भयौँ। हामीलाई सबैले सुरक्षित बनाउने प्रयास गर्नुभयो, हामी चढेको गाडीको ड्राइभरलाई सबै मिलेर कुट्न थालेपछि गाडीको ढोका बन्द गराएर राख्नु पर्ने अवस्था आयो।’

उनीसँगै जानेहरूमा उनी मात्र थिइन्  अन्य सांसदहरू सुनिताकुमारी गुरुङ, ललिताकुमारी चौधरी, राधाकृष्ण खनाल पनि थिए। सबैले यस्तै खालको असुरक्षित महसुस गरेको बताइन्। 

गच्छदारको पीडा व्यक्तिगत मात्र थिएन, त्यसमा प्रदेशको छवि जोडिएको थियो। कोसी प्रदेश सभाको उद्योग पर्यटन तथा वातावरण समितिको शुक्रबारको  बैठकमा  मन्त्री र सचिवको उपस्थितिमा भएको छलफलको क्रममा पर्यटन वर्षको नाममा हुने गतिविधिहरू व्यवस्थित हुनु पर्ने उनको भनाई थियो। 

कोसी प्रदेश पर्यटन मन्त्रालय, पर्यटन कार्यालयको आयोजनाको समन्वयमा पर्यटन व्यवसायीको नाममा ठेक्का लिएका अर्जुन कार्कीले यसको मेसो मिलाएको सांसदहरूको भनाई थियो। फर्किने बेलामा समेत बेवास्ता गरिएको, ट्रेनको टिकट काटेको भनेर दिनभरि रोकेर रात्रि बसमा टिकट काटेर भोकै पठाएको यथार्थ उनले सुनाउँदै गर्दा सबै चकित परेका थिए। 

कथा सुनाउँदा सुनाउँदै उनले भविष्यतर्फ फर्किन्। ‘कोसी सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गदा यस्ता गल्तीहरू दोहोरिनु हुँदैन। योजना स्पष्ट, समन्वय मजबुत, सुरक्षाको ग्यारेन्टी हुँदैन भनेँ त्यस्ता कार्यक्रममा सहभागी हुनु हुँदैन।’

उनको कुरा सकिँदा हल केही क्षण चुप रह्यो। सायद त्यहाँ उपस्थित सबैले त्यो अनुभवको तीतोपन महसुस गरेका थिए।

उनको कुरा सुन्दै गरेका नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रदेशस्तरीय पर्यटन तथा संरक्षण योजनामा स्थानीय सरोकारवाला र सरकार बिच पर्याप्त समन्वय नभएकाले परियोजनाहरू अधुरा र विवादित हुने क्रम बढेको गुनासो गरेका थिए। व्यक्तिगत स्वार्थी तत्त्वका कारण पर्यटन प्रवर्द्धनका विषयहरू विवादमा पर्ने गरेको बताए। 

प्रदेश सरकारले गर्ने कार्यक्रमहरूमा  सरोकारवालाको प्रत्यक्ष संलग्नता, स्पष्ट उद्देश्य र गरिमामय प्रस्तुति हुनुपर्ने उनको भनाई छ।

‘पर्यटनसँग जोडिएका योजनाहरूमा स्वार्थरहित दृष्टिकोण र स्थानीयको वास्तविकता जोडिनुपर्छ, नत्र पैसा मात्र खर्च हुने हो,’ उनले भने।

हालै कोसी प्रदेशका चार जना सांसद सहभागी भएको कलकत्तामा आयोजित अन्तर्राष्ट्रिय सुन्तला महोत्सवको प्रसङ्ग उठाउँदै तामाङले यस्तो कार्यक्रममा गरिमा र तयारीको कमी देखिएको बताए।

अन्तर्राष्ट्रिय महोत्सवहरूको औचित्य माथि नै उनले प्रश्न उठाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad