खेल


एनपीएल मिनी अक्सन आज : कुन खेलाडीमाथि लाग्ला सबैभन्दा धेरै बोली?

८ टोलीले १६४ मध्येबाट लिनेछन् ३७ खेलाडी, यस्तो छ अनुबन्धको नयाँ नियम
एनपीएल मिनी अक्सन आज : कुन खेलाडीमाथि लाग्ला सबैभन्दा धेरै बोली?

उजिर कार्की
साउन २३, २०८२ शुक्रबार २२:२९, काठमाडौँ

नेपाल प्रिमियर लिगको अक्सन सूचीमा १४ खेलाडी थप गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले यसअघि सार्वजनिक सूचीमा छुटेका १४ जना खेलाडी थप गरिएको बताए। 

‘समेट्नै पर्ने केही खेलाडी सूचीमा छुटेछन्। अनि, फ्रेन्चाइज टोलीसँग सल्लाह गरेर १४ जना थप गरिएको छ। अक्सनमा १६४ खेलाडी हुन्छन्,’ प्रवक्ता लामाले भने।   

शनिबार ललितपुरको बालकुमारीस्थित रोयल ट्युलिपमा हुने मिनी अक्सनमा १६४ जना खेलाडीको नाम समावेश हुनेछ। त्यसमध्येबाट ८ वटा फ्रेन्चाइज टोलीले आफ्नो बजेट र आवश्यकता अनुसारका खेलाडी लिन सक्नेछन्। 

हरेक टोलीले १२ जना नेपाली खेलाडी अनुबन्ध गर्न ९० लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। प्रत्येक टोलीले दोस्रो सिजन पनि ट्यालेन्ट हन्टबाट एक/एक जना खेलाडी अनुबन्ध गर्नु पर्नेछ। 

नेपाल क्रिकेट संघ (क्यान)ले १ सय ५० खेलाडीलाई विभिन्न क्याटेगोरीमा विभाजन गरेको छ। क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा ३५ तथा क्याटेगोरी ‘सी’ मा १०७ खेलाडी रहेका छन् । 

अक्सनका लागि सार्वजनिक सूचीमा खेलाडीलाई तीनवटा श्रेणीमा वर्गीकरण गरिएको छ। ए श्रेणीका खेलाडी अनुबन्ध गर्दा १० लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म बोलकबोल हुनेछ। त्यसमा सबैभन्दा बढी रकम तिर्ने टोलीले अनुबन्ध गर्न पाउँछ। तर अधिकतम १५ लाख रुपैयाँ तिर्न एकभन्दा बढी टोली तयार भएमा गोलाप्रथाबाट टुंगो लगाइनेछ। 

यस्तै बी श्रेणीका खेलाडी अनुबन्ध गर्न ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँ तोकिएको छ। सी श्रेणीका लागि न्यूनतम २ लाखदेखि अधिकतम ५ लाख रुपैयाँ खर्च गर्न सक्नेछन्। 

हरेक टिममा १२ जना नेपाली खेलाडी हुनुपर्नेछ। ८ वटा टोलीले पहिलो सिजनका ६ देखि ७ जना खेलाडीलाई नै निरन्तरता दिएका छन्। उनीहरूले जति खेलाडी रिलिज गरेका छन् त्यति नै संख्यामा अक्सनबाट अनुबन्ध गर्नु पर्नेछ। 

आफूसँग भएको बजेटका आधारमा कुन क्याटोगोरीका खेलाडी कति जना अनुबन्ध गर्ने भन्ने विकल्प टोलीलाई खुला रहेको प्रवक्ता लामाले बताए। 

‘ए क्याटेगोरीको खेलाडी रिलिज गरेको टिमले ए बाटै किन्नुपर्छ भन्ने छैन। उसले बी वा सी क्याटेगोरीको अनुबन्ध गर्न सक्छ। उनीहरूलाई नेपाली खेलाडी अनुबन्धनका लागि बजेटको दायरा छ। त्यसभित्र रहेर गर्न पर्‍यो। पहिलो सिजनमा जस्तो अहिले यही श्रेणीको खेलाडी लिनुपर्छ भन्ने बाध्यता छैन,’ लामाले नेपालखबरसँग भने। 

यसअघि पहिलो एनपीएलमा भने कुन श्रेणीका कति खेलाडी लिन पाउने भन्ने नियम थियो। पहिलो एनपीएलमा ए र सी श्रेणीबाट ३/३ जना र बी श्रेणीबाट ४ जनाका दरले खेलाडी अनुबन्ध गर्नु पर्ने नियम थियो। त्यसअघि नै मार्की खेलाडी छनोट गरिएको थियो। अब टोलीले आफ्नो अवस्था अनुसार खेलाडी छनोट गर्न पाउनेछन्। 

जनकपुर, पोखरा र कर्णालीसँग ७/७ खेलाडी छन्। अब यी टोलीले ४/४ जना खेलाडी शनिबारको अक्सनबाट अनुबन्ध गर्नेछन्। विराटनगर, चितवन, काठमान्डु, लुम्बिनी र सुदूरपश्चिमले ६/६ खेलाडी रिटेन गरेका छन्। यी ५ टोलीले अक्सनबाट  ५/५ जना खेलाडी अनुबन्ध गर्नेछन्। त्यसपछि ८ वटै टोलीले आ आफ्नो प्रदेशमा ट्यालेन्ट हन्टबाट एकएक जना खेलाडी टिममा राख्नुपर्नेछ। 

विदेशी खेलाडीको हकमा भने फ्रेन्चाइज टोलीले आफै छनोट गरेर अनुबन्ध गर्न पाउनेछन्। तर एउटा खेलमा चारजना विदेशी खेलाडी मात्रै खेलाउन पाइने नियम यथावत छ। अनुबन्ध भने त्यो भन्दा बढी गर्न पाउँछन्। 

गत सिजन नेपाली खेलाडी अनुबन्धमा सबैभन्दा बढी खर्च लुम्बिनीले गरेको थियो। लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ लाख खर्च गरेको थियो। चितवनले ए क्याटेगोरीका तीनैजना खेलाडी १० लाख रुपैयाँका दरले भित्र्याएको थियो। सुदूरपश्चिमले ७४ लाख, काठमाडौँ गुर्खाजले ७० लाख, चितवन राइनोजले ६३ लाख, विराटनगर किंग्सले साढे ६६ लाख, जनकपुर बोल्ट्स्ले ६९ लाख २५ हजार, लुम्बिनी लायन्सले ८४ लाख ७५ हजार, पोखरा एभेन्जर्सले साढे ८० लाख र कर्णाली याक्सले ७४ लाख रुपैयाँ खेलाडी अनुबन्धमा खर्च गरेका थिए। 

गत वर्ष आफ्नो अधिकतम सीमा अनुसार कुनै पनि टोलीले खर्च गरेका थिएनन्। गत सिजन चितवनमा रहेका शरद भेषावकर रिलिज भएका छन्। उनी यस सिजन पनि ए क्याटेगोरीमा छन्। 

ए क्याटेगोरीकै अर्जुन साउद र सूर्य तामाङलाई लुम्बिनी लायन्सले रिलिज गरेको छ। यस्तै कर्णाली याक्सले पनि ए क्याटेगोरीका देव खनाललाई रिलिज गरेको छ। पोखराले ए कै दिलिप नाथ र सुनम गौतमलाई रिलिज गरेको छ। यीबाहेक मोहमद आदिल आलम र पवन सर्राफ यसपटक ए क्याटेगोरीमा छन्। 

क्रिकेट फिक्सिङका कारण लामो समय खेल बाहिर रहेका आलम अदालतबाट सफाई पाएपछि पहिलो पटक एनपीएलको अक्सनमा समावेश भएका हुन्।

कुन टोलीमा को–को खेलाडी सुरक्षित भए? 
विराटनगर किंग्स : सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्ट। 

जनकपुर बोल्ट्स : आसिफ शेख, अनिल साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुलबहादुर थापा मगर।

चितवन राइनोज् : कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी। 

काठमान्डु गुर्खाज् : करण केसी, साहव आलम, भीम सार्की, राशिद खान, दिपेश कँडेल र प्रतीक श्रेष्ठ।

पोखरा एभेन्जर्स : कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दास। 

लुम्बिनी लायन्स : रोहितकुमार पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेश गौतम। 

कर्णाली याक्स : सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, युनिस विक्रमसिंह ठकुरी र विपिन शर्मा।

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनास बोहरा, इसान पाण्डे र नरेन साउद। 

यी हुन् अक्सनको सूचीमा भएका १५० खेलाडी 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad