कोशी


कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस

कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस

सुमन सुस्केरा
साउन १७, २०८२ शनिबार ९:५६, विराटनगर

कोसी प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले सबै मन्त्री फिर्ता बोलाउने अन्तिम गृहकार्य थालेका छन्।

कोसी प्रदेश सरकारभित्र मन्त्री हेरफेरको अन्तिम तयारी भइरहेको छ।

सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका केही मन्त्रीका कार्यशैली, अनियमितता र विवादास्पद गतिविधि सार्वजनिक भएपछि यसअघि नै तिनलाई हटाउने योजना भए पनि दुई दलबीच कुरा मिलिरहेको थिएन। 

एमाले-कांग्रेस गठनन्धनको सरकार बनेको एक वर्षभित्रै धेरै मन्त्री विवादित भइसकेका छन्।

कोही क्यूआर कोडमा, कोही कमिसनमा, कोही व्यक्तिलाई कुटपिट गरेको लगायत घटनामा मुछिएका छन्।

मन्त्री भएकै कारण एकलौटी बजेट आफ्नो निर्वाचन क्षेत्रमा पारेको भनेर पनि सम्बन्धित पार्टीकै संसदीय दलको बैठकमा त्यस्तालाई फिर्ता बोलाउनुपर्ने आवाज उठिरहेको छ। 

तर यस विषयमा सत्ता साझेदार कांग्रेस र एमालेबीच साझा धारणा बन्न नसक्दा निर्णय हुन सकेको छैन। 

त्यसो त माथिल्लो तहका नेताहरूले संरक्षण गरेका कारण पनि विवादित मन्त्रीलाई स्वयं दलका नेताहरूले चाहेर पनि फिर्ता बोलाउन सकिरहेका थिएनन्।

यसबीच कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर समेत विवादित मन्त्रीका विषयमा जानकारी गराएको स्रोतले जानकारी दिएको छ। 

एमाले केन्द्रीय कमिटीको बैठकताका काठमाडौँ रहेका बेला मुख्यमन्त्री कार्कीले देउवालाई भेटेका हुन्। 

स्रोतका अनुसार, देउवासँग छलफलपछि एमाले कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री कार्कीले मन्त्री फिर्ता बोलाउन भनेका थिए। उनीहरूबीच छलफलपछि मन्त्री फिर्ता बोलाउने अन्तिम तयारी भइरहेको हो।

क्यूआर कोडको विवादमा परेका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई फिर्ता बोलाउन यसअघि नै पटकपटक भनिए पनि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको दबाबमा रोकिएको थियो।

अब मण्डल मात्र नभएर सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारीमा दुई दलका नेताहरू देखिएका छन्।

यद्यपि नेपाली कांग्रेसभित्र अझै कुरा मिलिसकेको छैन।

एमालेमा भने सबै मन्त्री फिर्ता बोलाउने निर्णय भएकाले समस्या नरहेको मुख्यमन्त्री कार्कीनिकट स्रोतको दाबी छ। 

मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘एमालेको सबै मन्त्रीहरूलाई नै फिर्ता बोलाउने भन्ने केन्द्रीय नीति हो, त्यहीअनुसार नै कोसीमा पनि त्यही तयारी भइरहेको छ।’

कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता थापा बागमती प्रदेशको समस्या समाधान हुनेबित्तिकै कोसीसहितका ६ वटै प्रदेशका मन्त्री हेरफेरको निर्णय हुने बताउँछन्। मन्त्री फेरबदलबारे केन्द्रमा समेत छलफल भइरहेको जानकारी दिँदै उनले बागमती प्रदेशको समस्या समाधान हुनासाथ अरू प्रदेशमा पनि मन्त्री परिवर्तनको निर्णय हुने दाबी उनले गरे। 

उनका अनुसार, सत्ता गठबन्धनभित्र मन्त्री हेरफेरको प्रस्ताव उठिसकेको छ र सबै मन्त्री फेर्ने तयारी भइसकेको छ। तर त्यो निर्णय केन्द्रीय नेतृत्वको अन्तिम सहमति र समन्वयपछि मात्रै कार्यान्वयन हुनेछ।

‘अब मन्त्रीहरू सबै फेर्ने नै हो, तर फेर्दा पनि केन्द्रीय निर्देशनपछि मात्र हुन्छ,’ नेपालखबरसँग थापाले भने।

तर बागमती प्रदेशमा देखिएको समस्या समाधान नभएसम्म अन्य प्रदेशमा निर्णय अघि नबढ्ने उनको भनाइ छ। 

कोसी प्रदेशमा अहिले नेकपा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँच कर्ण राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी र राज्यमन्त्री सिर्जना राई छन्।

त्यस्तै नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल छन्।

मुख्यमन्त्री कार्कीले पनि चाँडै मन्त्रीहरू हेरफेर हुनसक्ने संकेत गरे। 

संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले नेपालखबरसँग भने, ‘चाँडै मन्त्रीहरू हेरफेर हुन सक्छन्, मन्त्रीहरूका विषयमा धेरै कुरा आएका छन्, अब चाँडै नै यो विषय थाहा पाउने गरी काम हुन्छ। 

यसबीच स्वास्थ्य मन्त्रालयमा एक वर्ष बितिसक्दा पनि कांग्रेसले मन्त्री पठाउन सकेको छैन।

गुटगत कुरा नमिल्दा डा शेखर कोइराला समूहको भागमा परेको स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्ति हुन नसकेको हो। 

मन्त्री नहुँदा मन्त्रालयका काम/कारबाहीमै असर परिरहेको छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि भौतिक पूर्वाधार विकास मन्त्री राईले नै सम्हालिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad