कोशी


कोसीका सभामुखको गुनासोः मिडियाले प्रदेश सभालाई चिन्नै सकेनन्

कोसीका सभामुखको गुनासोः मिडियाले प्रदेश सभालाई चिन्नै सकेनन्

नेपालखबर
साउन १५, २०८२ बिहिबार १७:५९, विराटनगर

कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशले जति उपलब्धि गरिएको छ त्यो अनुसारको उपलब्धि देखाउन नसकिएको बताएका छन्।

संसदीय पत्रकार मञ्च कोसी प्रदेशको आयोजनामा भएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा सभामुख विष्टले जसरी उपलब्धि हासिल भएका छन् त्यो अनुसारको प्रचार प्रसार हुन नसकेको बताएका हुन्।

बिहीबार कोसी प्रदेश सभा सचिवालयमा भएको कार्यक्रममा सभामुख विष्टले मिडियाले प्रदेश सभाका गतिबिधिहरुलाई प्राथमिकता दिन नसकेको भन्दै उनले विराटनगरका मिडियाले मात्रै प्रदेश सभाका गतिविधि सार्वजनिक गरेको भए पनि बाहिरी जिल्लाका मिडियाले प्रदेश सभालाई अझै चिन्न नसकेको उल्लेख गरे। 

प्रदेश सभा भित्रका गम्भीर विषयहरूमा मिडिया तथा पत्रकारहरूको ध्यान पुग्न नसकेको समेत उनको टिप्पणी थियो।

‘प्रदेश सभा भित्र नागरिकका सवालमा, जनजीविकाको विषयहरू कतिपय माननीय ज्यूहरूले महत्त्वपूर्ण विषयहरू उठाई रहनु भएको छ,’ उनले भने, ‘मिडियाको प्राथमिकता गाना बजाना, गीतका विषयले मात्रै चर्चा पाइरहेका छन्।’ 

प्रदेश सभाले अब नागरिकसँग जोडिनका लागि धेरै कार्यक्रमहरू अघि बढाएको बताए। महिला सांसदहरूको मञ्च गठन,  क्षमता विकासका कार्यक्रमहरू, विद्यालयसम्म प्रदेश सभाका गतिविधिहरू, उपप्रमुखसँग किशोरी कार्यक्रमहरू सञ्चालनको लागि कामहरू भइरहेको बताए। 

अब चाँडैले यही अधिवेशनबाट कोसी प्रदेश सभा सञ्चालन नियमावली संशोधन गरेर जाने तयारी भएको समेत बताएका छन्।

‘अन्य प्रदेशहरूबाट सिकेका कुरालाई प्रदेश सभा भित्रै प्रयोग गर्नको लागि हामीले नियमावली नै संशोधनको अन्तिम तयारी गरिरहेका छौँ,’ उनले भने। 

कोसी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले प्रदेश सभाका काम कार्वाहीहरु जिल्ला जिल्लामा पुर्‍याउने खालका कार्यक्रमहरू आगामी दिनमा सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको औँल्याईन्। 

प्रदेश सभाका माननीयहरू अन्तर प्रदेश भ्रमणमा गएको विषयहरूलाई गलत रूपमा विश्लेषण गरिएको भन्दै उपसभामुख दनुवारले   अन्तर प्रदेशका सिकाइहरू अहिले प्रदेश सभाको लागि असाध्यै महत्त्वपूर्ण भएको बताइन्।

‘सभामुख र उपसभामुख निवास र प्रदेश सभामा मात्रै केन्द्रित हुनुपर्छ भन्ने हैन,’ उनले भनिन्, ‘प्रदेश सभा सञ्चालनलाई व्यवस्थित बनाउँदै अरू प्रदेशका अनुभवहरूले हामीलाई रिफ्रेस गराउने तथा अर्को प्रदेशका कुराहरू कोसी प्रदेशमा प्रयोग गर्न प्रभावकारी भएको छ।’

त्यहाँ जाँदा धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदासँगै कानुन निर्माण, असल अभ्यासहरू  सबैको लागि सिकाईका केन्द्र बनेको उनले सुनाइन्।  उनले स्वतन्त्र र निष्पक्षका साथ पार्टी भन्दा बाहिर बसेर पत्रकारहरूले रिपोर्टिङ गर्नु पर्नेमा जोड दिइन्। 

कार्यक्रममा सामाजिक विकास समितिका सभापति गयानन्द मण्डल, प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिका सभापति होमबहादुर थापा, न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाल, सुशासन तथा योजना समिति सभापति खगेश्वरी पौडेल, अर्थ समितिका सभापति विनोद राई लगायतले प्रदेश सभाका व्यवहारिक पक्षहरू बाहिर जान नसकेको बताए। भ्रष्टाचार, अनियमितता, विकासको नाममा भएको असन्तुलित वितरणको विषयलाई प्राथमिकताका साथ उजागर गरिदिन सभापतिहरूको सुझाव छ।

सभापतिहरूले जनतामा भ्रम पर्ने खालका विषयहरू अहिले मिडिया मार्फत गइरहेकोले त्यसमा  ध्यान दिनु पर्नेमा जोड दिएका छन्। मञ्चका अध्यक्ष कुमार लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सचिव सुमन सुस्केराले संसदीय पत्रकार मञ्चले कोसी प्रदेशमा गरेका कार्यहरूको बारेमा जानकारी गराएका थिए।

कोसी प्रदेशको स्थानीय सरकारी सेवा तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दिइएको सुझाव, प्रदेशको घरेलु हिंसा सम्बन्धी ऐनको पुनरावलोकन गरी प्रदेश सभा, सचिवालय, मन्त्रालय र सम्बन्धित समितिलाई प्रतिवेदन समेत बुझाइएको बारेमा पनि जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad