कोशी


कोसी प्रदेशमा एकपछि अर्को सामूहिक हत्या, अपराधमा आफन्तकै संलग्नता

कोसी प्रदेशमा एकपछि अर्को सामूहिक हत्या, अपराधमा आफन्तकै संलग्नता

सुमन सुस्केरा
असार ३२, २०८२ बुधबार १४:१६, विराटनगर

कोसी प्रदेशमा एकपछि अर्को सामूहिक हत्याले आम नागरिकलाई भयभीत बनाएको छ। 

अझ तिनमा परिवारकै सदस्य संलग्न देखिँदा सर्वसाधारणको सुरक्षामै चुनौती देखिएको छ। 

सामूहिक हत्याका केही घटना हेरौँ।

घटना-१ : भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ को धोद्लेखानीमा असार २१ गते राति एकै परिवारका चार जनाको हत्या भयो। स्थानीयले त्यत्रो घटना भोलिपल्ट बिहान मात्रै थाहा पाए। प्रहरीका अनुसार भोजपुर नगरपालिका-२ हेलाउँछ बस्ने ३० वर्षीय राजेन्द्र राईले ससुरालीमै गएर पत्नीसहित ४ जनाको हत्या गरेका हुन्। 

श्रीमती १६ वर्षीया मनीषा गिरी, सालो ९ वर्षीय सपन गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सासू ४५ वर्षीया मञ्जु गिरीको हत्या गरेर राजेन्द्रले नै प्रहरीलाई जानकारी गराउँछन्। 

प्रहरीको नियन्त्रणमा रहेका राजेन्द्र अस्पतालमा उपचाररत छन्।

घटना-२ : २०७६ जेठ ७ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा एकसाथ ९ जनाको हत्या हुन्छ। सोही गाउँपालिकाको वडा नम्बर ७ मा रुखमा झुन्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिमले पहिले हत्या र पछि आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकाल्छ।

धारिलो हतियारबाट स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको हत्या गरिएको थियो। मारिएकाहरूमा ३६ वर्षीया अस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, १२ वर्षीया आशिका खजुम लिम्बूलगायत थिए। 

१२ वर्षीय सीता खजुम मात्र भागेर बाँच्न सफल भएकी थिइन्। मध्यरात भएको घटना स्थानीयले बिहान मात्रै थाहा पाएका थिए।

घटना-३ : संखुवासभाको मादी नगरपालिका-१ स्थित उम्लिङमा २०७८ भदौ २१ गते एउटा परिवारकै हत्या हुन्छ। घरमा रहेका ५२ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको शव घरबाहिर फेला पर्छ।

५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीय रञ्जना कार्की, नातिनातिना ८ वर्षका विपिन र ५ वर्षीय गोमा कार्की व्यक्तिगत रिसइबीका कारण मारिएको पुष्टि प्रहरीले गर्छ। उनीहरूका शव घरबाहिर चार ठाउँमा फेला परेका थिए।

हत्यामा अभियोगमा ४९ वर्षीय रणबहादुर कार्की, छोराहरू १७ वर्षीय नरेश, लोकबहादुर तथा ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। तीमध्ये रणबहादुर, लोकबहादुर, खड्गबहादुर र हस्तबहादुरलाई आजीवन कारावासको सजाय भएको छ। हत्यामा संलग्नहरू तेजबहादुरकै दाजुभाइ हुन्।

चालु आर्थिक वर्षमा भएका सामूहिक हत्यामा परिवारकै संलग्नता देखिन्छ। 

कोसी प्रदेशमा पछिल्लो एक दशकमा हत्या गर्ने क्रम बढेको देखिएको छ।

कोसी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७६/०७७ देखि २०८१/०८२ को असार २५ गतेसम्म १ हजार १६ वटा हत्या र हत्या प्रयास घटना भएका छन्। 

जसमा ३८ जनाको मृत्यु भएको छ भने ३३ जना गम्भीर, १९२ जना मध्यम र १६३ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ।

यी घटनामा ७०२ जना पक्राउ गरिएका छन् भने ३६२ जना फरार रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा २४२ हत्या र हत्या प्रयासका घटना भएका छन्। जसमा १४ जना मारिएका छन् भने १०२ जना सामान्य, ११६ जना मध्यम, १५ जना गम्भीर घाइते भएका छन्। 

यी घटनामा संलग्न आरोपमा १९० जना पक्राउ गरिएका छन् भने ६६ जना फरार रहेको प्रहरीले जनाएको छ। 

यस अवधिमा एकै व्यक्तिद्वारा धेरै जनाको हत्या तथा धेरै व्यक्ति मिलेर एक जना मारिएको पनि देखिन्छ। 

२०८० वैशाखमा इटहरी उपमहानगरपालिका-२० मा ६ जनाको मिलेमतोमा एक व्यक्ति हत्या गरिएको थियो।

२०८२ जेठ १२ गते धरान उपमहानगरपालिका-६ मा पाँच जना तथा इलाम फाकफोकथुम गाउँपालिका-३ मा २०८१ चैत ८ गते दुई जना मिलेर एक/एक जनाको हत्या गरिएको थियो।

यी अपराधमा पारिवारिक मनमुटाव तथा सम्पत्ति विवाद, मानसिक रोग, सामाजिक प्रतिष्ठाको द्वन्द्व, लागुपदार्थको लत, योजनाबद्ध बदनियत र गिरोह संलग्नता देखिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता ध्रुव श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘केही घटना आकस्मिक र आवेगमा भए पनि धेरैजसो योजनाबद्ध तथा संगठित अपराध नै देखिन्छ।’

यी हत्यामा बालबालिकाहरूलाई सिकार बनाइएको छ। 

पाँचथर, संखुवाभा र भोजपुर र उदयपुरका घटनामा १० वर्षभन्दा कम उमेरका धेरै बालबालिका मारिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad