कोशी


इटहरीका मेयरको अभिव्यक्तिबारे महासंघले कांग्रेससँग माग्यो पार्टीको धारणा

इटहरीका मेयरको अभिव्यक्तिबारे महासंघले कांग्रेससँग माग्यो पार्टीको धारणा

इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल


नेपालखबर
असार २५, २०८२ बुधबार १६:२०, विराटनगर

इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रप्रति दिएको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासङ्घ, सुनसरीले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मेयर पौडेलले असार २० गते दिएको अपमानजनक अभिव्यक्ति पछि चार दिन बितिसक्दा समेत क्षमा याचनाको कुनै प्रयास नगरेको भन्दै महासङ्घले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ। २४ गते महासङ्घको कार्यसमिति बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

महासङ्घका पूर्व अध्यक्षहरू, पेसागत सङ्घ–संस्थाका प्रतिनिधिहरू, सल्लाहकारहरू तथा पदाधिकारीहरूको उपस्थितिमा बसेको उक्त बैठकले मेयरको अभिव्यक्ति पदीय मर्यादा विपरीत र प्रेस स्वतन्त्रताको स्पष्ट उल्लङ्घन भएको निष्कर्ष निकालेको थियो। 

महासङ्घले मेयरको अभिव्यक्तिप्रति घोर भर्त्सना गर्दै यथार्थ पुष्टि गर्न मेयर पौडेललाई चेतावनीसमेत दिएको छ। साथै, विभिन्न चरणमा सङ्घर्षका कार्यक्रम घोषणा गरिएको छ।

सोही क्रममा बुधवार मेयर हेम कर्ण पौडेललाई ज्ञापन पत्र बुझाउँदै आफ्ना गलत अभिव्यक्ति फिर्ता लिन दबाब दिएको छ। बिहीबार इटहरीमा कार्यरत अग्रज तथा क्रियाशील पत्रकारहरूको भेला आयोजना गरिने,  इटहरीका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक वर्ग तथा सरोकारवाला निकायहरूसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवाद गरिने महासङ्घको विरोध कार्यक्रममा उल्लेख छ।

त्यस्तै, सूचनाको हक प्रयोग गरी उपमहानगरपालिकासँग सम्बन्धित विविध सूचनाहरू माग गर्न आह्वान गरिने पनि महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाली कांग्रेसको जिल्ला, प्रदेश तथा केन्द्रीय समिति समक्ष आधिकारिक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बारेमा मेयर पौडेललाई लक्षित गर्दै पार्टीको धारणा माग गर्दै ध्यानाकर्षण पत्र बुझाइने समेत सार्वजनिक भएको विरोध कार्यक्रममा उल्लेख गरिएको छ।

महासङ्घका सचिव विनय बाह्रकोटीले हस्ताक्षर गरी सार्वजनिक भएको विज्ञप्तिमा महासङ्घले पत्रकारिताको गरिमा रक्षा गर्न कुनै पनि प्रकारको दबाब र हस्तक्षेप नस्विकारिने स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad