नेपाली महिला फुटबल टिममा भएको विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज स्पष्टीकरण दिएको छ।
काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गर्दै कप्तान चयनको विषयमा भएको विवादबारे प्रष्टीकरण दिएको हो।
उज्वेकिस्तानमा हालै सम्पन्न एएफसी महिला एसियाली कप छनोटमा कप्तान छनोटको विषयमा टिम व्यवस्थापक र मुख्य प्रशिक्षकबीच विवाद भएको थियो। यही विवादका कारण खेलाडी स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने फर्किएका छैनन्।
उक्त विषयमा एन्फाकी कार्यसमिति सदस्य सरिला श्रेष्ठले भनिन्, ‘खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको सूची बुझाउनुपर्छ। हामीले बारम्बार माग्दा पनि उहाँले ९० मिनेटअघि दिँदैन भन्नुभयो। ५ मिनेटअघि दिनुभयो। जसमा कप्तानको नाम थिएन। हामीले सिनियारिटी हेरेर रेनुकालाई कप्तान बनाएका थियौँ।’
छनोटअन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घन्टामै परिवर्तन गरिएको थियो।
सुरुमा रेनुका नगरकोटीलाई कप्तान तोकेर सूची सार्वजनिक गरे पनि केहीबेरपछि सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तानको जिम्मेवारी दिइएको थियो।
खेलाडी मैदान प्रवेश गर्दा प्रशिक्षकले एक्कासि साम्बालाई कप्तानको आर्मब्यान्ड लगाइदिएको श्रेष्ठले दाबी गरिन्।
उनले साम्बा कप्तान नबनाउने भनेर कुनै राजनीति नगरिएको पनि दाबी गरिन्।
उनले भनिन्, ‘अन्तिममा कप्तान चयन हुँदा यस्तो समस्या भएको हो। त्यसमा तपाईंहरूले अन्यथा नसोचिदिनुहोला। साम्बा एक दिन १०० प्रतिशत कप्तान हुन्छिन्। यो देशमा अरू आउँछ भन्ने सोच छैन। त्यसकारण उहाँलाई नबनाउने भनेर पोलिटिक्स गरेको होइन।’
Shares

प्रतिक्रिया