इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेस गरेको छ।
नगर उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार सुरु १६औँ नगर सभामा आर्थिक वर्ष २०८१/०८२ को भन्दा एक अर्ब कम अनुमानित बजेट प्रस्तुत गरेकी हुन्।
चालु आर्थिक वर्षका लागि गत वर्ष उपमहानगरपालिकाले ३ अर्ब ५७ करोड ८३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेकाे थियाे।
नगर सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संघीय समानीकरण अनुदान २८ करोड ३० लाख, संघीय ससर्त अनुदान चालु खर्चतर्फ ४७ करोड १६ लाख , संघीय ससर्त अनुदान पुँजीगत खर्च तर्फ ४३ करोड २० लाख संघीय समपूरक अनुदान १ करोड ३६ लाख, संघीय विशेष अनुदान १ करोड ४२ लाख, प्रदेश समानीकरण अनुदान २ करोड ७५ लाख ६६ हजार उल्लेख गरिएको छ।
प्रदेश सशर्त अनुदान चालु खर्चतर्फ ७८ लाख ५ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्च तर्फ १ करोड २९ लाख २५ हजार, संघीय राजस्व बाँडफाँटबाट प्राप्त हुने १९ करोड २५ लाख १० हजार ७ सय ५९ रुपैयाँ बजेटमा प्रस्तुत गरिएको छ।
प्रदेश राजस्व बाँडफाँट (सवारी कर) २ करोड १ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिस्ट्रेसन ) ४० करोड, आन्तरिक स्रोतबाट ५८ करोड र नगद मौज्दात परिवर्तनबाट ९ करोड ६७ लाख २० हजार २ सय ४१ रुपैयाँ गरी कुल जम्मा २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेस गरिएको हो।
आगामी आर्थिक वर्ष स्थानीय जनताको मागबमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन्।
जसमा संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
यस्तै इटहरीको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिने मुख्य योजनामा समेटिएको छ।
बजेटमा इटहरीलाई सुन्दर सहर बनाउन सौन्दर्यकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकारभित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर, पैदल यात्रीको सहजताका लागि कोसी राजमार्ग दुईवटा आकासे पुल निर्माण गर्न बजेट छुटाइएको छ।
विश्व बैंकसँगको सहयोगमा इटहरीमा मुख्य समस्याको रूपमा रहेको बाढी तथा डुबान समस्या दीर्घकालीन रूपमा समाधानका लागि नमुना कार्यक्रमका रूपमा आएका प्रकृतिमा आधारित मोडेलबाट बाढी नियन्त्रण गर्ने कार्यको सम्भाव्यता चालु आर्थिक वर्षमा भइसकेकोमा आगामी वर्ष कार्यान्वयनमा ल्याइने भएको छ।
Shares

प्रतिक्रिया