कोशी


मेयरले स्रोत अनुमान समितिको बैठक नबोलाउँदा रोकियो धरानको बजेट

मेयर-उपमेयर द्वन्द्वको असर बजेट निर्माणमा
मेयरले स्रोत अनुमान समितिको बैठक नबोलाउँदा रोकियो धरानको बजेट

उपमेयर बेघा र मेयर राई


सुमन सुस्केरा
असार १०, २०८२ मंगलबार २१:२९, विराटनगर

कोसी प्रदेशका प्राय सबै पालिकाहरूमा बजेट आउँदा केही पालिकाहरूले भने असार १० अर्थात् मङ्गलवार बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेनन्। त्यो मध्येको धरान उपमहानगरपालिका पनि हो। कोसी प्रदेशका दुई उपमहानगरपालिका मध्ये इटहरी उपमहानगरपालिकाले बजेट ल्याएको भए पनि धरानले बजेट ल्याउन नसकेको हो। 

इटहरीको बजेट २ अर्ब ५५ करोड २१ लाख बजेट ल्याउँदा धरानमा भने आन्तरिक कलहका कारण कार्यपालिकाको बैठक बस्न नसकेपछि  बजेट नै ल्याउन नसकेको हो।  नगर सभामा बजेट प्रस्तुत गरेर छलफल गर्नु पर्ने समयमा मेयर हर्क राई श्रमदानमा दिनभर व्यस्त देखिन्थे। 

धरानमा नगर सभा हुन नसक्नु र बजेट नआउनुको कारण हेर्न भन्दा पहिला ८ गतेको कार्यपालिका बैठकको गतिविधिलाई बुझ्नु पर्ने हुन्छ। धरान उपमहानगरपालिकाको कार्यपालिकाको असार ८ गते दिउँसो २ बजे बोलाइएको थियो। बैठक सुरु हुन नपाउँदै उपप्रमुख आइन्द्र विक्रम बेघा सहित २८ जना कार्यपालिकाका सदस्यहरूले बजेट निर्माण सम्बन्धी गर्नु पर्ने पूर्व तयारी लगायतको कारण देखाउँदै बैठक बस्नुको औचित्य नभएको भन्दै प्रश्न उठाएका थिए।

‘सबै कानुनी प्रक्रिया पुरा गरेर मात्रै कार्यपालिकाको बैठक बोलाउनु उपयुक्त हुने भएकोले आजको बैठक बस्नुको औचित्य छैन, उपप्रमुख बेघाले भनेका थिए,‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले स्रोत अनुमान गर्नु पर्ने हुन्छ। दफा ६६ को उपदफा (६) (१)  बमोजिम समितिले आफ्नो कार्य प्रत्येक वर्षको फागुन महिना भित्र सम्पन्न गरी सक्नु पर्नेछ भनिएकोले कानुनी प्रक्रिया अनुसार बजेट ल्याउन कार्यपालिकाका प्रमुख हर्कराज राईलाई ज्ञापन पत्र बुझाउँद छौँ।’ 

त्यसैको आधारमा ८ गते बस्नु पर्ने कार्यपालिकाको बैठक बसेर पनि नगर सभामा पेस गर्नु पर्ने बजेट बारेमा निर्णय लिन सकेन। 

बैठकमा मेयर हर्क राईले जवाफ दिन थाल्छन्। जवाफमा मेयर राईले भनेका थिए, ‘बजेट बनाउनु पर्ने, बजेट बनाएर सिलिङ वडामा पठाउनु पर्ने, त्यो सहित आएर बजेट  सभामा पेस हुनु पर्ने भए पनि त्यो गर्न सकिएन।’

उनले आफू यो बारेमा विस्तृतमा नबोल्ने पनि बताएका थिए। उनले यो कसको कारणले, किन यस्तो भएको हो भनेर समय आउँदा बताउने उल्लेख गरेका थिए।   

‘बजेटको सिलिङ बन्न सकेन, सिलिङ नबनाउँदासम्म नगर सभा उद्घाटन नगरौँ भन्ने लाग्छ भनेँ, लाग्छ भन्ने नै भएन लिखित आएको छ बोलेको भन्दा प्रमाण हुन्छ, सिलिङ बनाएर गरौँ त्यसो भए,’ मेयर राईको यो व्यङ्ग्यात्मक भनाई थियो।

उनले आफ्नो काम बैठक बोलाउने भएकोले बैठक बोलाई राखेको  पनि बताए। बैठक बोलाउँदा पनि एजेन्डा भन्दा बाहिर गएर कुरा गर्ने गरेको समेत भन्न भ्याए। चालु आर्थिक वर्षको बजेट बनाउँदा पनि २०८१ असार १० गते बैठक उद्घाटन गरेर असार २१ गते मात्रै सिलिङ पास गरिएको सुनाए। 

‘पोहोर चैँ असार २१ गते सिलिङ पास गरिएको थियो, यसपालि चैँ नगर सभा उद्घाटन नै नहुने भयो है?’,उनले सबैसामु प्रश्न गर्छन्, ‘त्यसो भए ठिक छ, आजको एजेन्डामा चैँ १० गते नगर सभा उद्घाटन गर्ने भन्ने थियो, अब भोलि ९ गते, भोलि नै सिलिङ बनाएर पास गर्ने कुरा पनि भएन होला, अब म सिलिङ समितिको बैठक बोलाउने छु, अनि त्यसपछाडि गरौँ।’

लगत्तै मेयर राईले थप्छन्, ‘अब यसपालि नगर सभाको उद्घाटन नहुने देखियो त्यसो भए, पोहोर कै नीति तथा कार्यक्रम छ,त्यसैको ड्राफ्ट हेरेर रातो लगाएर ल्याउनु भयो भने त्यहाँबाट केही प्रगति हुन्छ की, त्यति चैँ गरौँ होला। यो त लिँदा हुन्छ होला नि (नीति तथा कार्यक्रम) यसमा तपाईँको सल्लाह सुझाव लिएर आउनु होला। यही भएको कारणले गर्दा आजको बैठक स्थगित भएको जानकारी गराउँदछु।’

यही बैठकबाट सुरु भएको थियो धरान उपमहानगरपालिकाको नगर सभाको लफडा। कार्यपालिकाका सदस्यहरूले स्रोत अनुमान समितिले बजेट वक्तव्य भन्दा पहिला नै छलफल गरेर ल्याउनु पर्ने स्रोत अनुमानमा मेयरले कामै नगरेपछि विवाद भएको कार्यपालिका सदस्यहरू बताउँछन्।  मेयरको संयोजकत्वमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै बसाउन नसकेपछि बजेट नै रोकिएको छ। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति सम्बन्धी व्यवस्था गरेको छ।  ऐनको उक्त दफामा भनिएको छ, ‘गाउँपालिका तथा नगरपालिकामा प्राप्त हुने आन्तरिक आय, राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम, अनुदान,  ऋण र अन्य आयको प्रक्षेपण र सोको सन्तुलित वितरणको खाका तथा बजेट सीमा निर्धारण गर्न स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति रहनेछ।’  

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको संयोजकमा प्रमुख रहने, सदस्यमा उपप्रमुख, कार्यपालिकाका सदस्यहरू मध्ये महिला, दलित वा अल्पसङ्ख्यक समेतको प्रतिनिधित्व हुने गरी अध्यक्ष वा प्रमुखले तोकेको चार जना र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत हुने भन्ने व्यवस्था रहेको छ। 

धरान उपमहानगरपालिकामा  बजेट आउन नसक्नुको कारणलाई स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसक्नुलाई नै लिइएको छ। यस बारेमा कुनै कर्मचारी तथा जनप्रतिनिधिहरू बोल्न मान्दैनन्। प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले नगर सभा आव्हान नभएको कारण आज बजेट नआएको भने स्वीकार गरे। बजेट ल्याउने बारेमा छलफल भईरहेको उनले बताए।  

त्यस्तै  मोरङको ग्रामथान गाउँपालिकामा पनि गाउँ सभा हुन सकेन। गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको एक्लो दम्भका कारण गाउँ सभा बस्न नसकेको पालिकाका वडा अध्यक्षहरूले बताएका छन्। अध्यक्ष एकातर्फ र उपाध्यक्ष सहित अन्य वडा अध्यक्षहरु अर्कोतर्फ विभाजित हुँदा सभा बस्न नसकेपछि बजेट रोकिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad