बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले क्यान्सरका गम्भीर अवस्थाका बिरामीहरूलाई लक्षित गरी घरमै उपचार सेवा सुरु गरेको छ।
‘होम बेस्ड हसपाइस केयर’ नाम दिइएको यस सेवामार्फत अस्पताल आउन असमर्थ बिरामीलाई उनीहरूको घरमै पुगेर चिकित्सकीय सेवा, लक्षण व्यवस्थापन, औषधि सल्लाह र भावनात्मक–आध्यात्मिक सहयोग प्रदान गरिने जनाएको हो।
सेवा हाल धरान उपमहानगरपालिकाभित्र सीमित छ। प्रतिष्ठानका स्वास्थ्यकर्मीको टोलीले बिरामीको अवस्थाअनुसार नियमित वा आकस्मिक सेवा दिने व्यवस्था मिलाइएको प्रतिष्ठानका सह–प्रवक्ता डा अभिजीतकुमारले जानकारी दिए।
उनका अनुसार काठमाडौँ उपत्यकाबाहिर यो सेवा प्रदान गर्ने प्रतिष्ठान पहिलो बनेको छ। यस सेवाको लागि निश्चित रकम तोकिएको छ। विपन्न वर्गका बिरामीले निःशुल्क सेवा पाउने उनले जानकारी दिए।
मोबाइल एपमार्फत सेवा
प्रतिष्ठानले बिरामीलाई सहज सेवा दिन मोबाइल एपको नयाँ संस्करण पनि सार्वजनिक गरेको छ। एपमार्फत बिरामीले घरमै बसेरै ओपिडी टिकट दर्ता गर्न, चिकित्सक छान्न, टोकन नम्बर प्राप्त गर्न र ल्याब रिपोर्ट हेर्न तथा डाउनलोड गर्न सक्नेछन्। शुल्क भुक्तानीको लागि ‘आईएमई पे’ र ‘खल्ती’ प्रयोग गरिएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस सेवाले ओपिडी टिकट काट्न र रिपोर्ट लिन लामो लाइनमा बस्नुपर्ने झन्झट हटाउने विश्वास लिइएको छ।

प्रतिष्ठानले स्नातक तहका विद्यार्थीहरूलाई क्यान्सर शिक्षा, रोकथाम, जनचेतना र अनुसन्धान गतिविधिमा सहभागी गराउन ‘क्यान्सर जागरूकता क्लब’ र ‘अनुसन्धान तथा विकास क्लब’ गठन गरेको छ। यसले विद्यार्थीको व्यवहारिक ज्ञान, आत्मविश्वास र सामाजिक उत्तरदायित्व अभिवृद्धिमा योगदान पुर्याउने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न ‘विद्यार्थी स्वास्थ्य तथा जीवनशैली प्रवर्द्धन इकाई’ गठन गरेको छ। उक्त इकाईले योग, ध्यान, साइकल सेवा, खेलकुद कार्यक्रम तथा मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्नेछ।
Shares

प्रतिक्रिया