कोशी


हुलाकी सडकको लापरबाहीप्रति स्थानीय आक्रोशित, कटहरीमा सडक अवरुद्ध

हुलाकी सडकको लापरबाहीप्रति स्थानीय आक्रोशित, कटहरीमा सडक अवरुद्ध

सुमन सुस्केरा
जेठ ८, २०८२ बिहिबार १२:३९, विराटनगर

हुलाकी सडकको निर्माण कार्य अत्यधिक ढिलाइ हुँदा आक्रोशित बनेका मोरङको कटहरीका स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। बिहीबार बिहानैदेखि जामुनगाछी खण्डमा उनीहरूले बास तेर्स्याएर सवारी साधनको आवागमनमा अबरोध गरेका हुन्। 

विराटनगरको हाटखोलादेखि नयाँ बजारसम्मको सडक निर्माण वर्षौंदेखि अलपत्र छ। दुबैतर्फ नाला निर्माण भइसकेको भए पनि सडक सम्याउने काम अझै सुरु नभएपछि स्थानीयले धुलो र हिलोको सास्ती भोगिरहेका छन्।

सडक निर्माण ढिलाइका कारण हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती ब्यहोर्नु परेको कटहरीका महेन्द्र सिंहले जानकारी दिए। रामचोकदेखि पूर्ब सबै सडक बनिसकेको भएपनि रामचोकबाट विराटनगर तर्फको सडक अस्तब्यस्त हुँदा आवत जावतमा समस्या रहेको उनको भनाई छ।  

रंगेली खण्डको काम पहिले नै सम्पन्न भइसकेको छ, तर पश्चिमतर्फको काम अझै सुस्त छ। रामचोकसम्मको सडकमा हिँड्न पनि गाह्रो रहेको उनको गुनासो छ। 

सडकको निर्माणको कामले गति नलिएपछि असन्तुष्टि जनाउँदै यसअघि पनि कटहरी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय मोरङअगाडि रिले अनशन गरेका थिए। तर निर्माण व्यवसायी र सम्बन्धित निकायको बेवास्ताका कारण समस्या यथावत् रहेको उनीहरूको भनाइ छ।

स्थानीयले तत्काल सडक निर्माणमा तीव्रता ल्याउन माग गरेका छन्। यदि माग पूरा नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्। 

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले यो सडक निर्माणको लागि सिडियो कार्यलयमा पटक पटक ध्यानाकर्षण गराईएको भएपनि ठेकेदार कम्पनीले चासो नदिएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad