ग्रामथान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष यादव खतिवडामाथि दुर्व्यवहार भएको भन्दै नेकपा एमाले मोरङले भत्र्सना गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राईले वैशाख ३१ गते गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले सार्वजनिक रूपमा गाली बेइज्जतीसहित दुर्व्यवहार र मानसिक यातना दिइएको दाबी गर्दै घटनाप्रति नेकपा एमाले मोरङको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
वडाहरूको नियमित भुक्तानी रोकिएको विषयमा नेपाली कांग्रेस तथा नेकपा एमालेका जनप्रतिनिधिहरूको संयुक्त बैठकले पालिकाको लेखा शाखामा दबाब सिर्जना गर्ने निर्णय गरेको थियो।
विज्ञप्तिमा भनिएको छ, ‘लेखा शाखामा आफ्ना मागहरू राखेर फर्किने क्रममा वडा अध्यक्ष खतिवडामाथि ग्रामथान प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यक्रम भएको मौका छोपी पिडारवनीका गयालाल माझीले फोनबाट ज्यान जोखिममा हुने धम्की दिएको, गाली गलौज गरेको लगत्तै सोही स्थानमा गाउँपालिका अध्यक्ष नमोनारायण माझी, गयालाल माझी सहितका ४.५ जनाले ठेगान गाउने धम्की दिँदै हात हाल्ने प्रयास भएकोप्रति खेद प्रकट गर्दछौँ।’
पालिका अध्यक्ष माझी स्वयंले ‘मलाई मुद्दा लगाउने तथा लेखा शाखाको काम अवरुद्ध लगायत गाउँपालिकामा भएका सम्पूर्ण गतिविधिको प्रमुख योजनाकार तपाईँ नै हो’ भनी आरोप लगाई ठेगान गाउने भनिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेकपा एमालेले विज्ञप्तिमार्फत गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको भोलिपल्टैदेखि नमोनारायण माझीले अशोभनीय र अराजक गतिविधिमा प्रस्तुत भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आफू सरह निर्वाचित भएका जनप्रतिनिधिमाथि पटक–पटक भइरहेको यस प्रकारको अमर्यादित र अपमानजनक कार्यप्रति नेकपा एमाले आपत्ति जनाउँदछ।’
यस्ता व्यवहार तत्काल सच्याउन तथा वडाध्यक्ष खतिवडालाई गाली बेइज्जती र धाक धम्की दिएको भन्दै उनको जिउधनको सुरक्षा गर्दै पालिका अध्यक्ष नमोनारायण माझीलाई कानुनी कारबाहीको माग गरेको छ।
Shares

प्रतिक्रिया