नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरले विराटनगरमा लगानी गर्ने जनाएको छ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाटका क्रममा टोलीले शिक्षा र खेलकुदको क्षेत्रमा गर्दै आएको सहयोगमा सहमति जनाएको हो। टोलीले आगामी दिनमा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसँगै गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्रीसँगै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
विगत दुई दशकदेखि कोरियामा व्यवसायसँगै समाजसेवामा सक्रिय नवराज सिवाकोटीको समन्वयमा आएको सेन्टरको टोली र महानगर बिच आगामी दिनमा शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने सहमति भएको महानगरपालिकाले जनाएको छ।
मेयर कोइरालाले कोरिया र नेपालबिच पुरानो विद्यालय शिक्षाको गुणस्तर सुधारमा महानगरपालिकाले काम गर्दै आएको बताए। दक्षिण कोरियाले कृषि, प्रविधि, शिक्षा र स्वास्थ्यमा गरेको प्रगति अनुकरणीय रहेको भन्दै प्रशंसा गरे।
मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गरे। किम जोङथेकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो।

प्रतिक्रिया