भारतको कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि कोसी प्रदेशका सीमा नाकामा कडा निगरानी गर्न थालिएको छ।
सीमा नाकामा अहिले बाक्लो संख्यामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी खटाइएको छ।
कोसी प्रदेशका दुई ठूला नाका जोगवनी र मेची नाकामा थप कडाइ गरिएको छ भने पशुपति नगर नाकामा निगरानी बढाइएको हो।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अवैध गतिविधि हुन नदिन तथा गलत मानिसको प्रवेश रोक्न निगरानी बढाइएको बताए।
‘यो सधैँभरि भइरहने हो, अहिले अलिकति निगरानी बढाएका हौँ, उनले नेपालखबरसँग भने, ‘कोही शंकास्पद व्यक्ति प्रवेश गर्ला कि भन्नेचाहिँ हो।’
नेपालतर्फ कडाइ गरिएको विषयमा भारतीय सुरक्षा अधिकारीसँग कुराकानी भने नभएको उनले बताए।
‘हामीले हाम्रो सुरक्षाको विषयलाई ध्यान दिएका छौँ’, उनले भने, ‘हामीले आन्तरिक रूपमा निगरानी बढाएका छौँ।’
भारतमा भएका गतिविधिका असर नेपालमा पनि पर्ने सम्भावनालाई ध्यान दिँदै सीमा नाकामा सतर्कता अपनाइएको उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारीले भने, ‘अलि फोकस हुनु है भन्ने हो। अलि त्यस्ता तत्त्व प्रवेश होलान् कि भन्नेबारेमा ध्यान दिने कुरा मात्रै हो।’
पशुपति नाकामा पनि कडाइ गरिएको छ।
इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सीमा नाकामा थप सतर्कता अपनाइएको जानकारी दिइन्।
उनका अनुसार पशुपतिनगर नाका भएर भारतीय पर्यटक मात्र नेपाल प्रवेश गर्ने हुन्, तेस्रो देशबाट आउने पर्यटकलाई अनुमति छैन।
नियमित निगरानी र चेकजाँच भइरहे पनि थप सतर्कता अपनाइएको उनको भनाइ छ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि गलत मानिस नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यान दिई सीमामा निगरानी बढाइएको बताए।
‘भारतबाहेक अन्य मुलुकबाट आउन सक्ने मान्छेहरूको हकमा कडाइ गरिएको हो, उनले नेपालखबरसँग भने, कश्मीरको घटनापछि त्यसको प्रभाव हुन सक्ने कुरालाई मध्यनजर गरिएको छ।’
कोसी प्रदेशमा नेपाल प्रवेश गर्ने मुख्य चार नाकामा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी (जोगवनी) र सुनसरीको भण्टाबारी हुन्। यसबाहेक थुप्रै साना भन्सार नाका पनि छन्।
यही अप्रिल २२ तारिख जम्मु-कश्मीरको पहलगाममा आतंकवादी आक्रमण हुँदा नेपाली युवा सुदीप न्यौपानेसहित २६ पर्यटक मारिएका थिए।
Shares

प्रतिक्रिया