मोरङ जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयहरूले शिक्षक आन्दोलनको बेलामा पोखरिया माविले प्रवेश परीक्षा सञ्चालन गरेको विषयमा आपत्ति जनाएका छन्। शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनको समयमा प्रवेश परीक्षा सञ्चालन गरिएको भन्दै आपत्ति जनाइएको छ।
विज्ञप्तिमा उल्लेख भएको ४४ वटा विद्यालयमध्ये २१ वटा विद्यालयले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघ मोरङ जिल्ला कार्यसमितिको निर्देशनमा उक्त प्रवेश परीक्षा रोक्न केही महासंघका सदस्य शिक्षकहरू विद्यालय पुगेका थिए, तर उनीहरूलाई सुरक्षाकर्मीको सहयोगमा गुन्डाको नामकरणसहित कोठामा बन्दी बनाई परीक्षा सञ्चालन गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ र कडा शब्दमा निन्दा गर्दछौँ।’
नेपाल शिक्षक महासंघले २०८१ साल चैत्र २० गतेदेखि नेपाल सरकारसँग भएका सम्झौताहरूको कार्यान्वयनको माग गर्दै काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेको छ।
वैशाख ६ गते एक कार्यक्रमसहित प्रवेश परीक्षा सञ्चालन गरिएको विषयलाई महासंघले गम्भीर रूपमा लिनुपर्ने उनीहरूले विज्ञप्तिमा भनेका छन्। महासंघको स्पष्ट निर्देशनका बाबजुद पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकबाट आन्दोलनको भावनाविरुद्ध गरिएको क्रियाकलापले महासंघको आन्दोलनमा गम्भीर धक्का पुर्याएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
पूर्वकै एउटा राम्रो सरकारी विद्यालयको प्रवेश परीक्षामा शिक्षक नेताको अवरोध प्रयास
‘यस्तो गैरजिम्मेवार तथा आत्मकेन्द्रित व्यवहार शिक्षक समुदायको साझा आन्दोलन, एकता र नैतिक मूल्यप्रति अपमानजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रधानाध्यापकले आफैँ महासंघको सदस्य भएर महासंघकै निर्देशनको अवज्ञा गर्नु, अन्य शिक्षकहरूलाई घेराबन्दीमा पारेर प्रशासनको सहयोगमा परीक्षा सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य र शिक्षक आन्दोलनको भावना विपरीत हो।’
प्रधानाध्यापकहरूद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई कारबाहीको लागि नेपाल शिक्षक महासंघसमक्ष माग गरेको छ। पोखरिया माविका प्रभावका कारण शिक्षक महासंघको आन्दोलनमा आम शिक्षक र कर्मचारीलाई चोट पुगेको पनि उल्लेख गरेका छन्।
विज्ञप्ति मार्फत आज लिइएको प्रवेश परीक्षा रद्द गरी नेपाल शिक्षक महासंघको निर्देशन नआउन्जेल यस्ता कुनै पनि गतिविधि नगर्न नगराउन सम्बन्धित प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई चेतावनी दिएको छ।



Shares

प्रतिक्रिया