नेकपा एमाले, मोरङ जिल्ला समितिको निर्वाचनपछि नयाँ नेतृत्व आएपछि विभिन्न रुपमा अर्थ्र्याउन थालिएको छ। दुुईवटा समूह बनाएर निर्वाचन भएको मोरङको नेतृत्व चयनका लागि पदाधिकारीसहित सदस्यहरुमा पनि प्यानल नै बनाएर चुनाव भयो। अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवहरु सन्तोष बान्तवा र उषा झा निर्वाचित हुनुमा एमाले नेता विनोद ढकालको मुख्य भूमिका रहेको भनिन्छ। दुईवटा प्यानल, अनि त्यसमा पनि संस्थापनभन्दा इतर प्यानलले जितेपछि त्यसले पार्टी राजनीतिमा पर्ने प्रभाव र अब नेतृत्वले खेल्नुपर्ने भूमिकाका विषयमा उनै ढकालसँग नेपालखबरले कुराकानी गरेको छ।
तपाईँको नेतृत्वमा रहेको भनिएको समूह नै जिल्लामा निर्वाचित भयो। के भन्नुहुन्छ?
यो प्यानलभन्दा पनि पार्टीको आन्तरिक प्रतिस्पर्धा हो। प्रतिस्पर्धामा आफू जित्नका लागि टिम बनाउनुपर्छ। एक्लै उठेर त जितिँदैन नि। टिम नै बनाएर प्रतिस्पर्धामा जाँदा मतदातालाई प्रभावित पार्न, आकर्षित गर्न, मत कलेक्सन गर्न सकिने भएकोले यो बनेको हो। यो टिम या प्यानलको पछाडि अर्को कुनै उद्देश्य छजस्तो मलाई लाग्दैन।
यसरी प्यानल बनाएर प्रतिस्पर्धामा जानु कति उचित हो?
अब प्यानल किन बन्छन् भन्दा दुई कारण छन्। एउटा त पार्टीभित्र दुई लाइन संघर्ष हुँदा प्यानल बन्छन्। अहिलेचाहिँ हाम्रो पार्टीभित्र दुई लाइन संघर्ष छैन। विचारमा पनि छैन, नेतृत्वमा पनि छैन, नीति सिद्धान्त केहीमा पनि छैन। अहिले हाम्रो पार्टी जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा चलेको छ। माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हाम्रो मार्गनिर्देशन हो। पार्टीको दसौँ महाधिवेशनले यी सबै कुराहरुलाई निरुपण गरेको र अब एघारौँ महाधिवेशन तोकिएको छैन। नेतृत्वको विषयमा पनि अहिले हाम्रो पार्टीभित्र यो या त्यो भन्ने छैन।
तर तपाईँले त केपी ओली समूहलाई नै पराजित गराइदिनुभयो नि?
केपी ओली नै नेकपा एमालेको एकल नेता हो। उहाँको विकल्प अहिले कसैले सोचेको छैन र उहाँको विकल्पको खोजी पनि भएको छैन। अब भोली महाधिवेशनमा के हुन्छ भन्ने त्यो अलग कुरा हो।
अहिले हाम्रो पार्टीमा न विचारको बहस छ, न नेतृत्वको बहस छ। यस्तो बेलामा पार्टीभित्र कुनै पनि खालको प्यानलचाहिँ बन्दैन।
केन्द्रदेखिका सबै नेता एकातिर अनि विनोद ढकाल र एक–दुई नेता अर्कोतिर भएको त प्रस्टै देखियो नि?
हाम्रो पार्टीमा केहीकेही कमीकमजोरी भएका छन्। पार्टीभित्र एउटा संस्थापन पक्ष र अर्को विरोेधी पक्ष छ भनेर जबरजस्त एउटा भाष्य स्थापित गर्न खोजिएको छ। त्यो काममा पार्टीको दोस्रो तहका नेताहरु लाग्नुभएको छ। यसमा पार्टी अध्यक्षहरुको त्यस्तो भूमिका देख्दिनँ। दोस्रो तहका नेताहरु जबरजस्त पार्टीभित्र संस्थापन र इतर पक्ष भनेर त्यो भाष्य स्थापित गर्न लाग्नुभएको छ। डेढ वर्षअघिको प्रदेश अधिवेशनमा पनि त्यो अलिअलि देखियो। अहिलेको जिल्ला अधिवेशनमा पनि त्यो केही प्रकट हुन खोज्यो। त्यो प्रवृत्तिलाई कार्यकर्ताहरुले परास्त गरे। म एक्लै भएको भए कसरी चुनाव जितिन्थ्यो र? मैले त अजम्बरजीलाई सहयोग गरेको मात्रै हो। जिल्लामा एउटा ठूलो टिम थियो। आज भन्दा बीसौँ, तीसौँ वर्षदेखि मोरङ पार्टीको नेतृत्व गरिरहेको थियो। मोरङको पार्टीको लिगेसीको नेतृत्व गर्थ्यो। विगत लामो समयदेखि पार्टीभित्रका अनेक अन्तरविरोधहरुमा पनि केपी ओली र केपी ओलीको नेतृत्वमा रहेको धारलाई स्थापित गर्न लामो समय संघर्ष गरेको थियो। हो, त्यो सिंगो टिमले अजम्बरजीलाई पार्टीको नेतृत्वमा स्थापित गर्नुपर्छ भनेर लाग्यो। त्यसको अगाडि म सहित अरु साथीहरु हुनुहुन्थ्यो। भएको यति मात्रै हो।
प्रदेशमा भएको हारको बदला जिल्लामा लिनुभयो, हैन?
मैले किन बदला लिनु र? राजनीतिमा त्यस्तो बदलाको भावना हुँदैन। प्रदेश अधिवेशन भएको लगभग डेढ वर्ष भयो। यस अवधिमा पार्टीलाई जुन एकताबद्ध बनाएर लग्नुपर्थ्यो, त्यो भएको देखिएन। सबैलाई समेट्ने, सबैको भूमिकालाई समन्वय गर्ने, सबैलाई भूमिका दिने, पार्टीलाई एकताबद्ध बनाएर लिएर जाने कुरामा नेतृत्व चुक्यो। त्यो कुराले कार्यकर्तामा अलिकति असुरक्षा महसुस भएको देखियो। पार्टी एकपक्षीय ढंगले अघि बढेको अनुभूति मोरङका पुराना नेता–कार्यकर्ताले गर्नुभएको थियो। त्यस कुराको असन्तोष, असन्तुष्टिको रुपमा सबैलाई समेट्नुपर्छ, पार्टीलाई एकताबद्ध बनाउनुपर्छ, सबैको भावनाको प्रतिनिधित्व पार्टीमा गर्नुपर्छ भन्ने कुराको पाठ, सबक प्रदेश कमिटी, मोरङ कमिटीका नेताहरुलाई मोरङ जिल्ला अधिवेशनले सिकाएको छ। बदलाको भावनामा भन्दा पनि पार्टीको त्यो गलत कोर्सलाई करेक्सन गर्ने एउटा अभ्यास र अभियानको रुपमा यस अधिवेशनको परिणामलाई लिइनुपर्छ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको आगमनलगत्तै दुई प्यालनबीच चुनाव भयो। एउटा ओली पक्ष र अर्को विद्या पक्ष भन्ने कुरालाई कसरी लिनुभएको छ?
यो विद्या भण्डारीलाई नबुझ्ने, एमालेको आन्तरिक राजनीतिलाई नबुझ्ने मान्छेहरुले चलाएको हल्ला हो। विद्या भण्डारी हाम्रो पार्टीमा उपाध्यक्षसम्म भएर दुई कार्यकाल सम्मानित राष्ट्रपति हुनुभएको राजनीतिक प्राणी हो। उहाँले राजनीतिप्रति चासो राख्नुहुन्छ। मोरङ भनेको होम टाउन (गृह नगर) हो। उहाँ विराटनगर आउनुभयो, भेट्नुभयो, बस्नुभयो। त्यो कुरालाई पोलिटिक्ससँग जोड्नुहुँदैन। उहाँको नित्तान्त निजी भ्रमण थियो। निजी भेटघाटको लागि ब्यक्तिगत सेड्युल बनाएर आउनुभएको थियो।
विद्या भण्डारी पार्टी राजनीतिमा सक्रिय बन्न खोज्नुभएको त हो नि?
अब विद्या भण्डारीले यो पार्टीमा छुट्टै प्यानल बनाएर एमालेको पोलिटिक्समा आउनुहुन्छ भन्ने चैँ मलाई लाग्दैन। उहाँ एउटा त्यो पोजिसनमा पुगिसकेको मान्छे, पार्टीले, आवश्यकताले, कार्यकर्ताले, सिंगो नेतृत्वले आवश्यक ठानेर नेतृत्वले नै प्रस्ताव गर्यो भने सहमतिका साथ एमालेको नेतृत्वमा आउन सक्नुहोला। तर विमति गरेर, प्रतिस्पर्धा गरेर, यो या त्यो प्यानल बनाएर, धार बनाएर, अमुक नेतासँग प्रतिस्पर्धा गरेर फेरि उहाँ एमालेको नेतृत्वमा आउनुहुन्छ होला भन्ने मलाई लाग्दैन। उहाँले कुनै त्यो रुपमा अभिव्यक्ति दिनु पनि भएको छै। त्यो रुपको उहाँको कसरत पनि देखिँदैन।
मोरङको अधिवेशनमा विद्या भण्डारीको नाम किन आयो त?
विद्या भण्डारीको नाम ल्याएर अनावश्यक रुपमा एमालेलाई गिजोल्ने, विवादमा पार्ने काम विभिन्न कोणहरुबाट भइरहेको छ, यो बेठिक छ। तर विद्या भण्डारी राजनीतिमा आउने या नआउने भन्ने कुरामा कुनै पनि कानुन र संविधानले रोकेको छैन। चाहँदा आउन सक्नुहुन्छ। राजनीतिमा आउने कुरालाई उहाँको चाहनाले मात्रै निर्धारण गर्दैन, त्यो सिंगो एमाले र एमाले नेतृत्वको आवश्यकताले निर्धारण गर्छ। यी दुई कुराहरु जुन विद्या भण्डारीको चाहना र एमालेको अहिलेको वर्तमान नेतृत्वले आवश्यकता महसुस गरेर दुवै कुरा जोडिनुपर्छ। नेतृत्वले आवश्यकता महसुस नगर्ने, अनि केपी ओली र विद्या भण्डारीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेर उहाँ एमालेको नेतृत्वमा आउने भनेको दिवास्वप्न मात्रै हो। त्यस्तो कुरा एमालेमा हुँदैन र हुन नदिनको लागि हामी एमालेजनहरु सबै लागेका छौँ। सबै लाग्नुपर्छ।
मोरङमा जुन परिणाम आयो, त्यसको सन्देश के हो त?
यो अलिक बढी प्रचार भयो। नेता कसले छान्ने, कार्यकर्ताले छान्ने कि नेताले? आफ्नो नेता त कार्यकर्ताले छान्ने होला नि। कार्यकर्ताले सार्वभौम अधिकार प्रयोग गर्ने भनेको अधिवेशनहरुमा नै हो। हाम्रो पार्टीको विधानले भनेको छ, कार्यकर्ता भनेको सार्वभौमसत्ता अधिकार सम्पन्न हुन्। नेतृत्व निर्माणको सन्दर्भमा पनि कार्यकर्ता सार्वभौम छन्। कार्यकर्ताको हातमा आफ्नो नेतृत्व छान्ने अधिकार अन्तरनिहित भएको विधान हामीले बनाएका छौँ। त्यही विधानको अधिकार कार्यकर्ताले प्रयोग गरेर आफ्नो नेता छानेका हुन्। म सधैँ यो अधिकार कार्यकर्ताले प्रयोग गर्न पाउनुपर्छ भन्छु। एमालेको जीवन भनेकै आन्तरिक प्रतिस्पर्धा पनि हो। त्यो कुरालाई रोक्नेछेक्ने कुरा बेठिक हुन्। त्यही कारणले गर्दा यो अधिवेशनले आफ्नो नेता आफैँ छानेको छ। प्रतिस्पर्धाबाट नेता छानेको छ। यो निरन्तर चल्दै आएको प्रक्रिया भए पनि यो अधिवेशनले फरक रुपमा चर्चा पायो। किन यस्तो भयो, यो चैँ मैले भन्न सक्दिनँ।
संस्थापन र इतर समूह भनेर चुनाव हुँदा तपाईँलाई कस्तो लागेको छ?
हाम्रो पार्टीभित्र संस्थापन र इतर भन्ने नै छैन। केपी ओली हामी सबैको सर्वमान्य नेता हो। हामी सबैले स्वीकार गरेका छौँ। उहाँको विकल्पमा अहिलेसम्म कोही छँदै छैन। भनेपछि नेतृत्वमा अहिले कुनै विवाद छैन। अर्को नेताको खोजी पनि भएको छैन। विचारमा कुनै बहस र विवाद छैन। भनेपछि यो इतर र संस्थापन भन्ने नै पार्टीमा छैन। जबरजस्त केही आफ्नो दुनो सोझ्याउन खोज्ने बीचका नेताहरु, जसले नेतालाई रिझाएर, नेताको नाम भजाएर आफू स्थापित हुन खोजिरहनुभएको छ, उहाँहरुले चलाएको हल्ला हो। नेताको नाम भजाएर संस्थापन र इतर समूह भनेर हल्ला चलाउने ती नेतालाई मोरङको अधिवेशनले दह्रो झापड हानेको छ। सिंगो एमाले नै एकताबद्ध छ। सबै एमाले भनेको नै संस्थापन हो।
मैले देखेँ, निर्वाचनमा लिस्ट बाँड्दा पनि संस्थापन पक्ष भनेर लेखेरै बाँडिएको थियो। त्यो बेकारको कुरा हो। सबै एमाले पक्ष हुन्। चुनावमा प्रतिस्पर्धा भयो, एमालेको प्रतिस्पर्धा भनेको जित्ने मात्रै प्रतिस्पर्धा हो। यहाँ कसैले हार्दैन। यो पार्टीभित्रको प्रतिस्पर्धा हार या जितको हुँदैन।
Shares

प्रतिक्रिया