पाथीभरा केबलकारको विरोध गर्दै आएको समूहले पुन: आन्दोलन गर्ने घोषणा गरेको छ। सोमबारको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि उनीहरूले पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन्।
केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्।
जारी विज्ञप्तिमा माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैङ्कसहित आईएमई समूहको बहिष्कार गर्ने घोषणा गरेका छन्।
फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने लगायतका कार्यक्रम उनीहरूले सार्वजनिक गरेका हुन्।
केबलकार निर्माणको लागि भएको सम्झौता खारेजीका लागि कोसी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि उनीहरूको आन्दोलनको कार्यक्रम भित्र समावेश गरिएको छ।
यी कार्यक्रम गर्दा पनि सरकारले अटेर गरे त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने विज्ञप्तिमा भनिएको छ।

Shares

प्रतिक्रिया