कोशी


पूर्वको चक्काजामले सुत्केरी बेथा लागेकी एउटी महिलालाई दिएको कष्ट

१८ वर्षीया कल्पना जोगीले २४ घण्टापछि मात्रै टेक्न पाइन् अस्पतालको आँगन
पूर्वको चक्काजामले सुत्केरी बेथा लागेकी एउटी महिलालाई दिएको कष्ट

सुमन सुस्केरा
माघ २२, २०८१ मंगलबार १३:२९, विराटनगर

रातीको झन्डै २ बजे एउटा एम्बुलेन्स हिलिहाङबाट पाँचथर सदरमुकाम फिदिम बजारतर्फ हुइँकिँदै थियो। 

कबेली नजिकै रहेको सिंगापुर स्वास्थ्य चौकीमा बच्चा जन्मिन नसकेपछि मंगलबार राती एक महिलालाई लिएर एम्बुलेन्स जिल्ला अस्पताल फिदिमतर्फ जाँदै थियो। 

एम्बुलेन्समा थिइन् हिलिहाङ गाउँपालिका– २ सिंगापुरकी १८ वर्षीया कल्पना जोगी। साथमा उनका आफन्त र एम्बुलेन्स चालक नर्बु शेर्पा। 

सुत्केरी बेथाले च्यापेपछि उनी  सोमबार दिउँसो सिंगापुर स्वास्थ्य चौकीमा गएकी थिइन्। त्यहाँ पुग्दा सहज  डेलिभरी नभएपछि राती १० बजेतिर हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई एम्बुलेन्स पठाइदिन भनियो।  

प्राथमिक स्वास्थ्य केन्द्र हिलिहाङ गाउँपालिका–३ को एम्बुलेन्सलाई राती ११ बजेतिर हेल्थपोष्टमा बिरामी लिन पठाइएको थियो। एम्बुलेन्स चालकले पाथीभरामा केबलकार निर्माणविरुद्ध तत्काल बाटोमा रुख ढालेर अवरोध गरेको बारे स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेलाई जानकारी गराए।  

झन्डै एक घण्टासम्म बाटो खुल्छ की भन्ने आसमा आफन्त र चालक बीच जंगलमै कुरेर बसे। तर बाटो खुल्ने छाँट देखिएन। 

तर, सुत्केरी व्यथा लागेकी जोगी निरन्तर छट्पटाई रहिन्। त्यहाँबाट एम्बुलेन्सलाई फर्काएर प्राथमिक स्वास्थ्य केन्द्र हिलिहाङ–३ को बर्थिङ् सेन्टरमा पुर्‍याईयो। त्यहाँ पनि उनको उपचार सम्भव भएन।  

रातभरिको  छट्पटाहटमा पनि उनले शिशुको जन्म दिन सकिनन्। रुख ढालेर बन्द गरिएको सडक खुलाउने प्रयास कसैबाट पनि भएन। 

जब बिहान भयो अनि प्रहरी टोली बाटो अवरुद्ध भएको ठाउँमा पुगेको थियो। बाटो मंगलबार बिहान मात्रै खुलेकोले जोगीलाई पाँचथर जिल्ला अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख एवम् स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिए। 

सुत्केरी बेथाले च्यापेकी उनलाई अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार थालिएको छ। एम्बुलेन्स चालक नर्बु शेर्पाले अहिले उनको शल्यक्रियाको तयारी भइरहेको जानकारी दिए।

‘राती बाटोबाट नै फर्किनु पर्‍यो’, उनले भने, ‘हिजोदेखि सुत्केरी बेथा लागेकी महिला अहिले पनि छट्पटाई रहेकी छिन्, बल्ल अस्पताल ल्याएको छु।’ 

पाथीभरामा केबुलबार बनाउन नहुने भन्दै विरोध गर्दै आएका आन्दोलनरत पक्षले सडकमा रूख ढालेर सडक अबरुद्ध गर्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ। सडक अबरुद्ध गर्दा अत्यावश्यक सेवामा समेत अबरोध भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad