कोशी


कोसी प्रदेश सभाको शून्य समय : सरकारले योजना पठायो अनुगमन गरेन

कोसी प्रदेश सभाको शून्य समय : सरकारले योजना पठायो अनुगमन गरेन

नेपालखबर
माघ १५, २०८१ मंगलबार १६:८, विराटनगर

कोसी प्रदेश सभामा सांसदहरूले भूमिहीन सुकुम्वासी, हात्ती आतङ्क, सरकारले योजनाको अनुगमन नगरेको विषयमा  सरकारको ध्यानाकर्षण गराएका छन्। 

कोसी प्रदेश सभाको छैटौँ अधिवेशनको सातौँ बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सरकारले योजना अनुगमनलाई प्रभावकारी नबनाएको आरोप लगाएका हुन्।

नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले प्रदेश सरकारले विनियोजन गरेको नीति कार्यक्रमहरू मन्त्री र सचिव स्तरबाट कुनै पनि अनुगमन र निगरानी हुन नसक्दा प्रभावकारी र परिणाममुखी हुन नसकेको बताए। जनताको प्रत्यक्ष पहुँचमा पुग्नु पर्ने र परिणाम देखिने गरी काम हुनु पर्ने अवस्थामा त्यस्तो नभएको बताए।

‘मन्त्रालय, मन्त्री र मुख्यमन्त्री स्तरबाट किन प्रभावकारी अनुगमन हुन सकेको छैन’, उनले भने, ‘मन्त्रालय स्तरबाट कार्य तालिका बनाएर काम गर्नु पर्नेमा उद्घाटन र प्रमुख अतिथि हुन मात्रै जाने गरेको देखिन्छ।’

कागजमा मात्रै अनुगमन गरेर नहुने भन्दै फिल्डमा गएर अनुगमन गरी कामको प्रभावकारितालाई परिणाममुखी विकासको कार्यक्रम अघि बढाउन सरकारसँग ध्यानाकर्षण गराए।

कांग्रेस सांसद मानबहादुर लिम्बुले पथरी कानेपोखरीमा बसोबास गर्ने नागरिकहरू अहिले पनि धनी पुर्जा पाउन नसकेको बताए। जमिनमा जोत भोग गरेको ३ पुस्ता भयो, जमिन हुँदा हुँदै पनि सुकुम्वासी जीवन बिताउनु परेको बताए।

उनले चुनावी अभियानको क्रममा घोषणा पत्रहरूमा जनाएको प्रतिबद्धता अनुसार सुकुम्वासी समस्या समाधानको काम अहिलेसम्म समस्या समाधान गर्नको लागि कुनै काम हुन नसकेको बताए। जोत भोग गर्दै आएका नागरिकलाई धनी पुर्जा दिने व्यवस्था मिलाउन उनले माग गरे।

सोलुखुम्बुकी डोल्मा तामाङले कोसी प्रदेश पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा विराटनगरले सोलुखुम्बुलाई चिन्न नसकेको बताइन्। संसारका विदेशी पर्यटकहरू आउने भए पनि सोलुले विराटनगरलाई चिन्न नसकेको बताइन्।

‘हवाई सेवा विराटनगरबाट सोलुखुम्बु किन हुन नसकेको हो,’ उनले भनिन्, ‘निजी क्षेत्रले काम गर्नु भनिरहँदा पनि सरकारले किन उडानको अनुमति दिन नसकेको हो, स्पष्ट होस्।’

स्पष्ट कानुनको अभावको कारण अहिले पनि प्रदेशले समस्या झेल्दै आएको, समन्वय समितिहरूलाई काम गर्न असहज भएको बताइन्।

एमाले सांसद शिला दीक्षित कार्कीले पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा गोठगाउँमा ४ वटा सिलिन्डर बम फेला परेको विषयलाई प्रदेश सरकारले गम्भीर रूपमा लिनु पर्ने बताइन्।

कोसी प्रदेशमा द्धन्दको समयमा राखिएका विस्फोटक पद्धार्थहरु हुनसक्ने भएकोले खोजीमा लाग्न सरकारलाई आग्रह गरिन्। एकीकृत समाजवादीका सांसद विद्या चाम्लिङले पाथीभरामा भएको घटनामा ठेकेदारहरूको हालीमुहाली भएको र जनतालाई गोली हान्ने काम भएको बताइन्।

झापाकी सांसद कमला थापामगरले स्वास्थ्य बिमामा विमित भएको ३ महिना पछि मात्र सेवा सुविधा पाउने गरेकोले यो समय हटाउन माग गरिन्।  त्यो अवधिमा बिरामीले कुर्नु पर्ने हो की मर्नु पर्ने हो भन्दै स्वास्थ्य मन्त्रीसँग प्रश्न राखिन्।

राप्रपाकी प्रमुख सचेतक सविना बजगाईँले जङ्गली हात्तीको कारणबाट जनताले दुख पीडा भोग्दै आएको बताइन्। बुद्धशान्ती, मेची नगर र हल्दिवारी लगायतका पालिकामा समस्या रहेको जानकारी दिइन। रातभरि सुत्न नपाएको, धान नष्ट गर्ने, बाली नष्ट गर्ने लगायतका धेरै समस्या स्थानीयवासीले भोग्दै आएकोले बताइन्। जनताको दुख कष्टमा प्रदेश आफैँले गर्न नसके पनि सङ्घीय सरकार पनि गम्भीर हुनु पर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad