भूकम्प सुरक्षा दिवसको अवसरमा कोसी प्रदेश सरकारले दिउँसो एउटा कार्यक्रम आयोजना गरेको थियो। सचेतना जनाउने उद्देश्यले आयोजना भएको कार्यक्रममा हल भरी सहभागी हुनेछन् भन्ने थियो।
मुख्यमन्त्री कार्यालयका सचिव सहित कोसी प्रदेश सरकारका सबै मन्त्रीहरूलाई बोलाइएको थियो।
११ बजेलाई तय भएको कार्यक्रममा सहभागी हुन पूर्वी पृतनाका पृतनापति पवनराज घिमिरे, कोसी प्रदेश प्रहरी कार्यालयका डिआइजी राजन अधिकारी, सशस्त्र प्रहरीका एसएसपी सहित राष्ट्रिय अनुसन्धानका निर्देश इन्द्र लामा समेत सहभागी थिए।
उनीहरू समयमा नै कार्यक्रममा पुगेको भए पनि झन्डै आधा घण्टा पछि आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी हलमा पुग्दा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार साह र स्वास्थ्य मन्त्रालयका सचिव डा राधिका थपलिया र आयोजक मन्त्रालयका निमित्त सचिव कमल थापाको बाहेक उपस्थिति थिएनन्।
दिवस मनाउनको लागि सबै मन्त्रालयका सचिवहरूलाई जानकारी गराइएको भए पनि उनीहरू आएनन्। कार्यक्रम सुरु भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव थापाले भूकम्पीय सुरक्षाबाट बच्न सबै लाग्नु पर्ने र बलियो संरचना बनाउँदा मात्रै पनि क्षति रोक्न सकिने भएकोले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए।
अन्तरक्रिया भनिएको उक्त कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुख र केही अधिकृतहरू र तीन वटा मन्त्रालयका सचिव र केही एक–दुई जना विज्ञ र केही पत्रकार मात्र थिए।
प्रस्तुतीकरणमा विज्ञ रामप्रसाद दहालले २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउनु थालिएकोले यो २७ औ दिवसको रूपमा मनाइएको बताए। लगत्तै भवन ऐन कार्यान्वयनको अवस्थाको बारेमा भौतिक पूर्वाधार सचिव साहले जानकारी गराएका थिए। भूकम्पीय सुरक्षा मापदण्ड अनुसारका संरचनाको लागि भवन संहिता कार्यान्वयन गर्नु पर्नेमा जोड दिए।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले भवन ऐन कार्यान्वयन गर्ने वातावरण सरकारले बनाउने बताए। उनले भएको कानुन कार्यान्वयनमा नगएको भए तत्काल कार्यान्वयनमा लग्ने, कानुन बनाउनु पर्ने अवस्था भए बनाउने प्रतिबद्धता जनाए।
प्रदेश सरकार भूकम्प मैत्री पूर्वाधार निर्माण कोलागि प्रतिबद्ध छ, उनले भने, 'पुराना कानुनलाई सच्याउनु पर्ने भए सच्याउन पनि तयार छ र नयाँ कानुन बनाउनु पर्ने भए पनि तयार छ।'
कार्यक्रममा क्षेत्रगत र विषयगत क्षेत्रका सङ्घ संस्थाहरूको कार्यक्रममा सहभागिता कमजोर रहेको थियो।
Shares

प्रतिक्रिया