काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार भएको आक्रमणको निन्दा गरेको छ।
अध्यक्ष रामचन्द्र पौडेल (आर।सी। विमल) र सचिव उज्वल राम श्रेष्ठले संयुक्त विज्ञति प्रकाशित गरी घटनाको निन्दा गरेका हुन्।
विज्ञप्तिमा त्रिपाठीमाथिको दुर्व्यवहार अदालतमाथिकै आक्रमण भएको ठहर गरिएको छ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१।१०।०२ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको ‘संगठित रुपमा ठगि गरेको’ मुद्दामा थुनछेक बहस गरी अदालतबाट निस्कने क्रममा जाहेरवालाहरुको तर्फबाट बहस पैरवी गरेको विषयलाई लिएर अदालतको गेटमा उपस्थित भएका केही उच्छृंखल व्यक्तिहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई हातपात, लछारपछार एवं कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार एवं कार्य भएको घटना प्रति यस बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ। पक्षको तर्फबाट बहस पैरवी गरेको विषयमा कानुन व्यवसायी माथि आक्रमण गर्ने कार्यबाट स्वतन्त्र सक्षम र निर्भिक न्यायपालिका माथि आक्रमण भएको यस बार एशोसिएशनको ठम्याई हो।’
कानुन व्यवसायीमाथि आक्रमण गर्ने कार्य अदालतमा पक्षको स्वतन्त्र प्रतिनिधित्वको सिद्धान्त विपरितको कार्य भएको काठमाडौं बारको ठहर छ।
साथै, अदालतमा पक्षको प्रतिनिधित्व गरी बहस पैरवी गरेको विषयमा कानुन व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्ने जस्ता अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरुलाई अविलम्ब पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि सम्बन्धित निकाय समक्ष जोडदार माग गरिएको छ।

Shares

प्रतिक्रिया