ad ad

कोशी


कोशीमा राप्रपाले माग्यो सभामुख पद

राप्रपाले पाए सभाले स्थायित्व पाउने र गठबन्धन सरकार सुरक्षित हुने तर्क
कोशीमा राप्रपाले माग्यो सभामुख पद

नेपालखबर
पुस ४, २०८० बुधबार १८:२, काठमाडौँ

कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सभामुख पदमा दाबी गरेको छ।

९३ सदस्यीय सभामा ६ वटा मात्र सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो। राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूसँग सभामुख आफ्नो दललाई दिन आग्रह गरेको बताए।

‘संसदीय व्यवस्थामा प्रतिपक्षबाट सभामुख चयन गर्ने अभ्यास पनि बनिसकेको छ,’ सिटौलाले नेपालखबरसँग भने, ‘सत्ता गठबन्धन र एमालेका साथीहरूसँग मैले कुरा गरेको छु। उहाँहरू सकारात्मक बन्नुभयो भने हामी योग्य पात्र अघि सार्छौँ।’

राप्रपाले सभामुख पाए हालको गठबन्धन सरकार सुरक्षित हुने र प्रदेश सभाको स्थायित्व पनि सुनिश्चित हुने सिटौलाको तर्क छ।

राप्रपाबाट अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने तयारी गरिएको छ। ‘उहाँ हाम्रो पार्टीको सिनियर नेता पनि हो,’ सिटौलाले भने।

राप्रपाले सभामुख पाएमा गठबन्धन सरकार जोगिनेछ। किनभने, गठबन्धनसँग बहुमतका लागि आवश्यक पर्ने ४७ सिट सुरक्षित छ।

तिनैमध्येबाट सभामुख चयन हुँदा वा सभाको अध्यक्षता गर्दा भने बहुमत पुग्दैन। यसअघि दुईपटक मुख्यमन्त्री भएका कांग्रेसका उद्वव थापाले यही कारण सत्ता गुमाउनुपरेको थियो।

पहिलोपटक तत्कालीन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरी उद्वव थापाले मुख्यमन्त्री पदको नियुक्ति लिँदा सर्वोच्च अदालतले बदर गरिदिएको थियो। त्यसपछि गौतमलाई राजीनामा गर्न लगाएर नियुक्ति लिँदा विश्वासको मत विवादित बनेको थियो। सभाको अध्यक्षता गर्ने व्यक्तिलाई समेत मतदानमा सहभागी गराएर विश्वासको मत लिँदा पनि अदालतले मान्यता दिएको थिएन।

प्रदेश सभामा एमालेकी सृजना दनुवार उपसभामुख छिन्।

प्रदेशसभाको आगामी बैठक पर्सि शुक्रबार बोलाइएको छ।

कोशीमा हाल कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन्। उनलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले भने सरकार छाडिसकेको छ। उनले माओवादीलाई सरकारमा समावेश गरेपछि एमाले पछि हटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .