नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक नरहेपछि भूपेन्द्र राईले सरकारी गाडी फिर्ता गरेका छन्। शनिबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएपछि त्यसको भोलिपल्टै राईले संसद सचिवालयमा गाडी बुझाएका हुन्।
प्रमुख सचेतक भएपछि राईलाई २०७९ माघ १० गते संसद सचिवालयले गाडी उपलब्ध गराएको थियो। सरकारी बिदाका कारण कार्यालय नखुल्ने भएपछि संसद् सचिवालयका कर्मचारीलाई आफैंले बोलाएर राईले गाडी फिर्ता गराएका हुन्।
संसद सचिवालयले अर्को प्रमुख सचेतकको टुंगो नहुन्जेल गाडी सुविधा लिन सक्ने भने पनि राईले आफू सरकारी गाडीको दूरुपयोग नगर्ने बताउँदै बुझाएका छन्।
कोशीमा नेपाली कांग्रेस दुई समूहमा बाँडिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसको एउटा समूह सत्ता गठबन्धनमा र अर्को समूह प्रमुख प्रतिपक्षि एमालेसँग सहकार्य गरेको छ।
संसदीय दलका नेता उद्धव थापाले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन दिएका थिए। तर त्यसलाई नमान्दै केदार कार्कीले एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
शनिबार प्रदेश प्रमुखले सनाखत गराउँदा समेत कार्कीले महुमत पुष्टि गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन्। कार्कीले आइतबार मुख्यमन्त्रीको सपथ समेत लिइसकेका छन्। यस्तै उनले आफूलाई समर्थन गर्ने कांग्रेसको समूहबाट एक र एमालेबाट एक जनालाई मन्त्री बनाएका छन्।
उनैलाई समर्थन गर्ने अन्तिममा निर्णय लिएका केन्द्रीय सत्ता गठबन्धन कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबाट भने सरकारमा सहभागी गराइएको छैन।
Shares

प्रतिक्रिया