ad ad

कोशी


तरुण दल र नेविसंघले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि हवाई फायर

तरुण दल र नेविसंघले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि हवाई फायर

प्रहरीविरुद्ध प्रदर्शन गर्दै तरुण दल र नेविसंघ।


रासस
भदौ २३, २०८० शनिबार ६:५९, ताप्लेजुङ

नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार ताप्लेजुङ प्रहरीविरुद्ध प्रदर्शन गरेका छन्। बिहीबार राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई प्रहरीबाटै आक्रमण भएको भन्दै उनीहरूले सुरक्षा निकायविरुद्ध प्रदर्शन गरेका हुन्। 

तरुण दल र नेविसंघ ताप्लेजुङको अगुवाइमा शुक्रबार दिउँसो पार्टी कार्यालयबाट विरोध जुलुस निकालिएको थियो। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय र प्रहरी सहायता केन्द्रको संरचनामा ढुङ्गा र लाठी प्रहार गरेका थिए। प्रहरी कार्यालयअघि प्रदर्शन गर्न पुगेका प्रदर्शनकारी आक्रोशित बनेपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो। 

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूलाई निलम्बन गर्नुपर्ने लगायतका मागसहित नाराबाजी गर्दै बजार परिक्रमा गरिएको थियो। बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयअघि कोणसभा समेत गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य हाङ्गामले आफूविरुद्ध प्रहरीले नियोजित रूपमा आक्रमणको प्रयास गरेको बताए। 

सुरक्षार्थ खटिने प्रहरीले जनप्रतिनिधिलाई नै आक्रमणको प्रयास गर्नुले प्रहरीप्रति सर्वसाधारण नागरिकको विश्वास र भरोसा गुमेको उनको जिकिर छ। सदरमुकाममा लागेको मिनिमेलालगायतका विभिन्न कार्यक्रमबाट प्रनाउ लिम्बूले पैसा लिएको उनले आरोप समेत लगाए। पाथीभरा क्षेत्रका यातायात व्यवसायीबाट समेत पैसा असुल्ने गरेको उनको दाबी छ। यस्तै कांग्रेस सभापति गजेन्द्र तुम्याहाङले कांग्रेस पार्टीका विरुद्ध नै प्रहरी नियोजितरूपमा प्रस्तुत भएको टिप्पणी गरे। 

बिहीबार राति प्रहरीको टोलीले हाङ्गाम निवास घेराउ गरी ढुङ्गा प्रहार गरेको साथै हाङ्गामलाई पेस्तोल तेर्स्याएको, अश्लील शब्द प्रयोग गरी गाली गरेको तरुण दलको दाबी छ। मध्यरातमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडओमा प्रहरीले हाङ्गाम निवासको गेटमा लात्ती प्रहार गरेको देखिन्छ भने सादा पोसाकमा रहेका एकजनाले ढुंगा प्रहार गरेको देखिन्छ। 

यता प्रहरीले भने बजार क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीले मापसेसहित देखिएका केहीलाई सजग गराउने क्रममा उल्टै प्रहरीलाई गालीगलौज भएपछि विवाद सिर्जना भएको जनाएको छ। मिनिमेला लागिरहेको गेटबाहिर भएको उक्त विवाद सामान्य भएर प्रहरीको टोली कार्यालय फर्कने क्रममा हतियार खोस्ने प्रयास भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक लिम्बूले बताए। उनका अनुसार हतियार खोस्न खोजेपछि थप विवाद भएको थियो। हाङ्गाम निवासको गेटभित्र खुकुरीसहित युवाको समूह देखिएपछि त्यहाँ प्रहरी पुगेको उहाँको भनाइ छ।

उक्त घटनाको विरोधमा नेपाल तरुण दल केन्द्रीय समिति, जिल्ला स्थित नेपाली कांग्रेस, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .