मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका आइतराज राई चार वर्षदेखि एक्लो जीवन बिताइरहेका छन्। ४४ वर्षीय राईको परिवारका अन्य सदस्य र आफन्त तेस्रो मुलुकतिर गएका छन्।
उनी भने पुनःस्थापनका क्रममा छुटेका कारण शिविरमा एक्लै परेका हुन्। उनी पनि तेस्रो मुलुक पुनःस्थापना कार्यक्रमअन्तर्गत परिवारसँगै अमेरिका, अस्ट्रेलियालगायत विभिन्न युरोपेली मुलुक जान चाहन्थे।
भुटानबाट खेदिएर तीन दशकदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका राई भन्छन्,‘आमाबुबा र परिवारका अन्य सदस्य सबै अमेरिका पुगे, विशेष कारणले तेस्रो मुलुक पुनःस्थापना कार्यक्रममा म समेटिन सकिनँ।’
अहिले उनी ज्यालादारी गरेर जीवन चलाइरहेका छन्। उनले पनि तेस्रो मुलुक जान प्रक्रिया अघि बढाए पनि अहिलेसम्म अवसर पाएनन्।
उनीजस्तै समस्यामा छन्- सोही शिविरमा बस्ने ४१ वर्षीय कमल भुजेल। परिवारका ८ सदस्यमध्ये ६ जना अमेरिका पुगेको ४ वर्ष भइसक्यो, तर कमल र उनका दाजु अहिलेसम्म पुनःस्थापना कार्यक्रममा समेटिन सकेनन्।
बाहिरको केटी विवाह गरेका कारण पुनःस्थापना कार्यक्रममा समावेश हुन प्रक्रिया लम्बिँदा उनीसहित दाजु छुटेका हुन्।
‘तेस्रो मुलुक पुनःस्थापना कार्यक्रम नै बन्द भइसक्यो’ , कमल भन्छन्, ‘अब त परिवारसँग भेट होला जस्तो पनि लाग्न छाडिसक्यो। हामी शरणार्थी जाने कोटामा बाहिरका मान्छे लगेका कारण कोटा पूरा भएर होला, स्वयं हामीजस्ता धेरै भुटानी शरणार्थी शिविरमा नै छाडिएका छौँ।’
कमलका अनुसार भुटानी शरणार्थीहरू पुनःस्थापना कार्यक्रमअन्तर्गत धेरैका परिवारका सदस्य अहिले अमेरिका, अस्ट्रेलियालगायत विभिन्न मुलुक पुगिसकेका छन्। सो कार्यक्रममा समेटिए पनि विभिन्न कारण प्रक्रिया लम्बिएकाले छुट्नेको संख्या पनि धेरै छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ नेपाली नागरिकसँग ठूलो रकम उठाएर ठगी गरेको अभियोगमा यतिबेला पूर्व एवं वर्तमान राजनीतिक तथा प्रशासनिक उच्च अधिकारी धमाधम पक्राउ परिरहेका छन्। तर सक्कली शरणार्थी अहिले पनि शिविरमा पीडादायी जीवन बिताइरहेका छन्।
हाल झापाको बेलडाँगी र मोरङको शनिश्चरेमा बसेका भुटानी शरणार्थीको संख्या साढे ६ हजारको हाराहारीमा छ। तीमध्ये ४ सय २९ जना शरणार्थीका रूपमा दर्ता हुन छुटेका छन्।
नेपाली नागरिक धन-सम्पत्ति कमाउने प्रलोभनमा परी शरणार्थी बन्ने र बनाउने धन्दामा लागेको कुरा सार्वजनिक हुँदा वास्तविक शरणार्थी भने दुःख व्यक्त गर्छन्।
पथरी शनिश्चरे शिविरका कृष्णवीर राई भन्छन्, ‘हामी भने पुन:स्थापना कार्यक्रममा समावेश भए पनि तेस्रो मुलुक जाने कुरामा समेटिन सकेका छैनौँ।तर पैसाको लोभमा बाहिरका मान्छे हाम्रो ठाउँमा अमेरिका ,क्यानडा पुगेछन्। हामी भने आफन्त र परिवारसँग विछोडिएर यही शिविरमा बस्न बाध्य छौँ।’
पहिले झापा र मोरङका पाँच स्थानमा भुटानी शरणार्थीका शिविर थिए। तर १ लाख १० हजार भुटानी शरणार्थी अमेरिका, अस्ट्रेलियालगायत विभिन्न युरोपेली मुलुकमा पुनःस्थापित भएपछि अहिले दुई स्थानमा मात्र शरणार्थीको बसोबास छ।
लामो समयदेखि पूर्वी नेपालका झापा र मोरङका दुई शिविरमा बसिरहेका भुटानी शरणार्थीले तेस्रो मुलुक पुनःस्थापनाको विकल्पमा जान नचाहने वा छुटेकाहरूले भने नेपालमै बस्न पाउनुपर्ने माग गर्न थालेका छन्।
मोरङको पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईका अनुसार अहिले पनि झापा र मोरङका शिविरमा रहेका सयभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना कार्यक्रममा सहभागी भए पनि विशेष कारणले छुटेका छन्। अन्य शिविरमा रहेकाहरू भने तेस्रो मुलुक जान नचाहनेहरु छन्।
शिविरका सचिव राई भन्छन्, ‘धेरै लामो भयो, शरणार्थीहरूले भुटान फर्कन चाहेको तर, अहिलेसम्म सम्भव भएन। त्यसैले धेरैको इच्छा अब नेपालमै बस्न पाउनुपर्छ भन्ने छ।’
क्याम्प सचिव राईका अनुसार अहिले पनि कतिपय बूढापाका भने भुटान फर्किन पाइने आशमा छन्।
उनका अनुसार झापा र मोरङका विभिन्न शिविरमा शरणार्थी जीवन बिताइरहेकामध्ये ४ सय २९ जना दर्ता हुनै छुटेका छन्। विभिन्न कारण दर्ता हुन नसकेका उनीहरू तनावमा छन्।
पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले दर्तामा छुटेका उनीहरू तेस्रो मुलुक जान नपाउने र शरणार्थीका रूपमा पाइने सुविधाबाट पनि वञ्चित छन्।
‘दर्तामा छुटेका शरणार्थीहरू विभिन्न समस्याले पिरोलिएका छन्’, क्याम्प सचिव राई भन्छन्, ‘न यिनले शरणार्थी भएर पुनर्वास कार्यक्रममा भाग लिन पाएका छन्, न त शरणार्थीले पाउने अन्य सुविधा नै उपभोग गर्न पाएका छन्।’
राई थप्छन्, ‘न उनीहरूलाई नेपाली भनेर परिचय गराउने अवस्था छ, न अर्को कुनै देश चिनाउने अवस्था छ।’
पथरी शनिश्चरे शिविरका हर्क कार्कीका अनुसार दर्ता गर्ने बेलामा बाँच्नका लागि कामको खोजीमा बाहिर गएकाहरू दर्ता हुनबाट छुटेका हुन्।
उनीहरू कामबाट फर्केर आउँदा परिवारका अरू सदस्यको नाम दर्ता भइसकेको र उनीहरूचाहिँ छुटेको सुनाउँदै कार्की भन्छन्, ‘वर्षाैं बित्यो, जति प्रयास गर्दा पनि दर्ता गर्न सकिएन।’
तेस्रो मुलुक पुनर्वासमा गएपछि नेपालमा बचेखुचेका शरणार्थी शिविरमा दिइने गरिएको खाद्य सहयोग पाँच वर्षदेखि रोकिएको हो। तीन दशकदेखि विश्व खाद्य कार्यक्रमले भुटानी शरणार्थीहरूलाई खाद्य सहयोग प्रदान गरिरहेको थियो।
सुरुमा खाद्यान्न उपलब्ध गराइरहेको विश्व खाद्य कार्यक्रमले पछिल्लो समय नगदै दिन थालेको थियो। तर, दाताहरूबाट सहयोग रोकिएपछि शिविरमा रहेका शरणार्थीको जीवन थप संकटमा परेको हो।
नेपालमा हाल बाँकी रहेका ६ हजार ६ सय ३४ शरणार्थीमध्ये ७ सय ३५ जना अपांगता भएका, आफन्त नभएका, अशक्त एवं वृद्धवृद्धा झापा र मोरङका शिविरमै छन्। उनीहरूका आफन्तमध्ये कोही भुटानमै छन् भने कतिपय अमेरिका र युरोपतिर छरिएका छन्। सातवटा शरणार्थी शिविरमध्ये पाँचवटा खाली भइसकेका छन्।
अहिले झापास्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविर गरी दुईवटामा मात्र शरणर्थी राखिएका छन्। पथरी शनिश्चरे शिविरमा १४ सयको संख्यामा शरणार्थी बसेका छन् भने बाँकी बेलडाँगी शिविरमा छन्।
Shares
प्रतिक्रिया